ताजा समाचार

एमालेका सात सिफारिस, दल उम्मेदवार छान्दै

सोलुखुम्बु, ८ वैशाख । नेकपा (एमाले) सोलु दूधकुण्ड नगरपालिकाको बैठकले नगरपालिकाको मेयर पदको उम्मेदवारमा सातजनाको नाम सिफारिस गरेको छ ।

नगर सङ्गठन कमिटीको बिहीबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि आङदामी शेर्पा, डाकबहादुर राणापाल, दोर्जी जाङ्बु लामा, बच्चुनारायण श्रेष्ठ, वीरउदाश श्रेष्ठ, रामकाजी श्रेष्ठ र सन्तोष मगरको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बिहीबार नै बसेको जिल्ला कमिटी बैठकले पनि नाम टुङ्गो लगाउन नसकेपछि सातैजनाको नाम प्रदेश सभामा पठाउने निर्णय गरेको छ । सो नगरपालिकाको उपमेयरका लागि कल्पना राई, मोहनकुमारी कार्की, सूर्यकुमारी सुनुवार र याङ्डी लामाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।

सोलु दूधकुण्ड नगरपालिकाको मेयर पदमा नेकपा (माओवादी केन्द्र)ले यसअघि नै ङिमातेण्डुप लामालाई मेयर पदको उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली काँग्रेसलगायत अन्य दलले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

नेकपा (एमाले)ले हालसम्म जिल्लाका तीनवटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले लिखुपिके गाउँपालिकाको प्रमुखमा पोष्टकुमार कार्की, खुम्बु पासाङल्हामु गाउँपालिकामा ङिमदोर्जी शेर्पा र दूधकोसी गाउँपालिकामा बुद्धिकिरण राईलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले सोलु दूधकुण्ड नगरपालिकामा ङिमातेण्डुप शेर्पा, दूधकोसी गाउँपालिकामा आशमान राई, दूधकौसीका गाउँपालिकामा अशिम राई र लिखुपिके गाउँपालिकाको प्रमुखमा डम्बरबहादुर बस्नेतलाई प्रमुख पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

अन्य स्थानीय तहमा भने हालसम्म कसैले पनि उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । अहिले दलहरु उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताइएको छ । स्थानीय तहको प्रमुख पद तथा वडा प्रमुख पदमा आकाङ्क्षी धेरै भएकाले नेपाली काँग्रेस र नेकपा (एमाले)लाई उम्मेदवार छान्न कठिन भएको बताइएको छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org