ताजा समाचार

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको बाल्यकाल : बुझ्यौ, मन्त्री बन्नु पर्छ !

रामचन्द्र पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता हुन् । उनी २०४८ साल यताका हरेक चुनावमा तनहुँबाट जित्दै आएका छन् । पटक–पटक मन्त्री भएका उनले २०५१ मा प्रतिनिधिसभा सभामुखको जिम्मेवारी सम्हालेका थिए । उनी तनहुँको  मिर्लुङ बाहुन पोखरामा २००१ सालमा जन्मिएका हुन् । पोखराको विन्दबासिनी पाठशाला पढ्दै छात्र संघ गठन गरेर त्यसको सभापति भएका रहेछन् पौडेल । कम्युनिष्ट समर्थित संस्कृत छात्र संघको अधिवेशनमा प्रतिनिधी समेत भएका उनी राजनीतिको सुरुवाती दिनमा काँग्रेस थिएनन् । ‘काँग्रेसको सरकार छउञ्जेल म काग्रेस थिइइँ, उनले सुनाए, ‘जब २०१७ सालमा काँग्रेस नेता थुनिए, त्यसपछि काग्रेस भएँ । जनताले चुनेको मान्छेलाई राजाले थुन्ने ? त्यसपछि मलाई काँग्रेस माया लाग्यो ।’ काँग्रेसमा अध्ययनशील नेता भनेर चिनिएका पौडेलसँग कुराकानी गर्न उनकै निवास काठमाडौं बोहराटार गएको थिएँ । उनको निवाससम्म पु¥याउने र भेटको चाँजोपाँजो मिलाइदिने काम मेरो दाई ईन्द्र न्यौपाने र पौडेलका नातेदार तनहुँकै कृष्णकान्त पण्डितले मिलाएका थिए । काँग्रेस सभापति सुशील कोइराला अमेरिका गएकाले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पौडेलले लिएका थिए उनलाई भेट्न जाँदा । आफ्नो श्रीमति सहित कुराकानी गर्न बसेका पौडेलेले खुलेर कुराकानी गरे । उनी सिधै बाल्यकाकालका कुरा गर्न थाले ।
उनले यसरी सम्झिए बाल्यकाल :

मेरो बाल्यकाल धेरै कष्टकर भयो । ४ वर्षको हुँदा पेटको समस्या भयो । सहनै नसक्ने गरी दुख्थ्यो । ढाडिन्थ्यो । म रुन्थें । चिच्याउँथें । नजिकै वैद्य माइलाको घर थियो । हजुरबा कमलपतिले म रोएको थाहा पाएपछि वैद्यलाई हेरिदेउ भनेर बोलाउनु भयो । वैद्यले तेल लगाएर दुखेको ठाउँमा माँडे । माडेर के हुन्थ्यो ? तैपनि केही बेर सञ्चो हुन्थ्यो । निदाउँथें । औषधी गर्ने ठाउँ थिएन । जाँच्ने यन्त्र थिएन । सबै जना किन दुख्यो भनेर चिन्ता गर्थे । के भएको थाहा थिएन । कालान्तरमा धेरैथोक खाँदा औषधीको कुन प्रक्रिया मिल्यो कुन्नि, दिसामा स्वाट्ठै लु“डो लागेर जुका आयो । लुँडाकालुँडा जुका गएपछि बल्ल थाहा पाइयो, जुकाले समस्या भएछ । झन्डै ६ महिना पिडित भएँ । विस्तारै तंग्रिएँ ।
त्यतिबेला पढ्ने चलनै थिएन । स्कुल थिएन । पढ्न पोखरा पुग्नु पथ्र्याे । हजुरबा पण्डित हुनुहुन्थ्यो । उहाँले हामीलाई पढाउन घरमै पण्डित बोलाउनु भयो । घरमै कख सिक्यौं । पछि एक ठाउँमा स्कुल बन्यो । जोगी गुरु पढाउन आउँथे । थप पढ्न लमजुङको दुराडाँडा गएँ ।
नाम चलेका पण्डित थिए नरहरी । म उहाँकै घरमा बसें । कौमदी पढें । उहाँका छोरासँग खेलिन्थ्यो । पर खेतमा पानीको मुहान थियो । ठूलो पानी भएकाले त्यहाँ नुहाउन जान्थ्यौं । एक विहान त्यहीं जाँदै थियौं । बाटैमा बारी थियो । त्यहाँ मकै रोपिएको थियो । बारीमा बाँसको बार हालिएको रहेछ । त्यसलाई नाँघेर जानुपर्ने भयो । गुरुका छोरा म भन्दा बलिया थिए । उनीहरु फट्केर गए । मैंले लामो धोती लगाएको थिएँ । बाँसको झिगल्टामा धोती अल्झ्यो । डङग्रङग बज्रिएँ । हातै भाचिएछ । त्यही ठाउँका अरु ३ जना केटाका पनि हात भाँचिएको थियो । एकजनालाई पोखराको मिसन हस्पिटल लगे । इन्फेक्सन हुन्छ भन्दै कुइरे डाक्टरले तिनको हातै काटिदिएछन् । ठुटे भयो हात । एउटाको बाङगाको बाँङगै भयो । म कहिंपनि गइनँ । त्यहीं गुरुहरुले हर्सुलको बोक्रो लगाए । अरु के–के के–के लगाएर नेपाली कागजले बाँधे । बाँसको खपैचा लगाएर प्लाष्टर गरे । त्यसले बाँधे । लट्टे र काँचो सिम्रिक खान दिए । तीन महिनामै निको भयो ।
हात भाँचिएपछि घर आएँ । फेरि गाइवस्तु हेर्न थालें । केही समय त्यहीं हल्लिएँ । पढाइ छुट्यो । हजुरबाका १४ जना नाती । संयुक्त परिवार थियो । मचाहिं उहाँको कान्छो छोराको जेठो नाती । एकै ठाउ“मा बस्ने भएकाले कसले कसलाई पढाउने ? समस्या थियो । म पढ्न भागेर पोखरा गएँ । त्यहाँ गएपछि समस्या भयो । खाने कुरा थिएन । हजुबुबालाई चिठी लेखें । त्यसमा बेदना कहें । कविताको शैलीमा लेखेको थिएँ वेदना । त्यो पढेपछि हजुरबा रुनु भएछ । उहाँले भरिया लगाएर खानेकुरा, घिउ, चामल, दाल बोकेर पठाउनु भएछ । अब मलाई खान समस्या भएन । विन्दवासिनी पाठशालामा भर्ना भएँ। त्यतिबेला १४ वर्षको थिएँ ।

म जतिबेला पनि दाई (ठूलोबाको छोरा) सँगै हुन्थें । उहाँले राम्रो नराम्रो जे सिकाउँथे त्यही गर्थें । दाइले चुरोट, कंकट खाने जस्ता नराम्रा बानी पनि बसाइदिनु भयो । स्कुल विदामा गाइ चराउन जान्थ्यौं । चक्का पातको खोंची बनाएर कंकट खान्थ्यौं । फलामको टुक्रा लिएर गइन्थ्यो । त्यसलाई दर्सिन ढुंगामा हान्थ्यौं । आगोको झिल्का पथ्र्याे । झुलामा आगो सल्काउँथ्यौं । चुरोट पाइदैनथ्यो । पछि चमेरोमार, बसमार जस्ता चुरोट आयो । त्यही सल्कउँथ्यौं ।
गाइ छिटो ल्याएर गोठमा बाँध्थ्यौं । अनि मचाहिं रामायण, महाभारत, देविभागवत कोठीमा बसेर पढ्थें । खुब रमाइलो लाग्थ्यो पढ्दा । म खाना खान भित्र लाग्थें । हजुरबा, बुबा वा दाइ रामायण पढ्न थाल्नुहुहन्थयो । पढ्दा पढ्दै बिराउनुहन्थ्यो । यहाँ गल्ती भयो भनेर म भित्रबाटै सच्याइदिन्थें ।
कहिले हल्लिएर पनि बसियो । कहिले पौडी खेल्न गइन्थ्यो । खहरे बढ्नै हुदैनथ्यो । पौडी खेल्न दौडिहाल्थें । बेसीमा धेरै खेतबारी थियो । दाईं हाल्ने बेला र उखु पेल्ने ताका खुबै रमाइलो हुन्थ्यो । बेसीमै परालको कुरी बनाएर बस्थ्यौं । त्यहीं खेल्थ्यौं । त्यहीं खान्थ्यौं । त्यहीं सुत्थ्यौं । काला उखु टन्नै हुन्थ्यो । त्यसलाई पेलेर खु“दो बनाइन्थ्यो । खाइन्थ्यो ।
जताततै काँचो पात हुन्थ्यो । गुल्मीदेखिका मान्छे आउँथे । कुँडेका कुँडे–खुँदो पकाउँथे । त्यसमा काँचो पात हाल्थे । घोट्थे । घोटेर तमाखु बनाउँथे । हाम्रा बाहरु तमाखु बेच्थे । बुबा राम्रो किसान हुनुहुन्थ्यो । ४ हल गोरु थिए । हामी पनि खेतमा जान्थ्यौं । छेउकुना खन्थ्यौं । बाउसे गथ्र्याै । आली लगाउँथ्यौं । धेरै काम गर्न मलाई हजुरबाले दिनुहुन्न्थ्यो । घरमा ३/४ वटा घोडा हुन्थे । त्यसलाई दौडाउन सिपालु थिएँ । लेकबाट भोटे घोडा ल्याएर केही समय राखिन्थ्यो । वेसीको हावापानीसँग ति सजाउँथे । अनि मधेश लगेर बेचिदिन्थ्यौं ।
त्यतिबेला ८ वर्षको थिएँ । म पहिलोपल्ट काठमाडौं जाने भएँ । सडक थिएन । हिंडेरै जानु पर्ने । लमजुङको कुन्छा, गोरखाको दरौंदी किनार हुँदै धादिङको सल्यानटार निस्केर जाने बाटो थियो । भरियालाई खानेकुरा बोकाएका थियौं । मसिनाको चामल, घिउ, दाल लगायत बोकेरै ल्याएका थियौं । ७ दिन हिंडेर बालाजु आइपुगियो ।
दाइ काठमाडौंको जेपी हाइस्कुलमा पढ्नु हुन्थ्यो । मंगलबार भेट्नु हुदैन भन्थे । त्यही भएर तारा लागेपछि मात्रै दाइको कोठामा जाने भयौं । दिउसै आएकाले बालाजु बाइसधारामा बस्यौं । त्यही बस्दा झन्डा फरर्र पारेर एउटा कार आयो । त्यही थियो मैंले पहिलो पल्ट गाडी देखेको । त्यहाँ मन्त्री डिल्लीरमण रेग्मी चढेका रहेछन् । उनी गाडी बाट ओर्ले । यता उता घुमे । उनको सानै बेग्लै थियो । त्यो देखेर बुबाले भन्नु भयो, ‘देखिस बाबु, मन्त्रीको सानै बेग्लै ! तँ पनि यस्तै बन्नु पर्छ ठूलो भएपछि ।’

 

(पत्रकार दामोदर न्यौपानेको ‘स्वर्णिम समय’  पुस्तकबाट)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org