ताजा समाचार

किन र कस्ता पुस्तक पढ्छन् ओबामा ?

अमेरिकी राष्ट्रपति बाराक ओबामा राजनीतिज्ञ मात्र होइनन्, विश्वमा चलेका लेखक पनि हुन् । उनको पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ त विश्वकै ‘बेस्टसेलर’ पुस्तकमा पर्छ । उनी राम्रा अध्येता पनि हुन् । ओबामासँग न्युयोर्क टाइम्सकी प्रमुख पुस्तक समीक्षक मिचिको काकुटानीले गत शुक्रबार अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा पुस्तकहरूबारे कुराकानी गरेकी थिइन् । न्युयोर्क टाइम्सबाट अनुवाद गरिएको त्यही पुस्तकवार्ताको अनौपचारिक अनुवाद 

ती पुस्तकहरू जुन तपार्इंले छोरी मालियालाई किन्डलमा दिनुभयो, ती कुन–कुन पुस्तक थिए, के ती तपार्इंका प्रिय पुस्तकहरू हुन् ?
मलाई लाग्छ, तीमध्ये केहीचाहिँ सबैले अनुमान गर्ने पुस्तक थिए, जस्तो कि, ‘द नेकेड एन्ड द डेड’ र ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ । तर, मलाई लाग्छ, उनले यी कुनै किताब पढेकी छैनन् ।

त्यस्तै, अरू केही किताब थिए, जुन सबैको रिडिङ लिस्टमा पर्दैनन् । तर, मलाई ती किताब पढ्दा अत्यन्त रमाइलो लागेको थियो । ती हुन्, डोरिस लेसिङ्गको ‘द गोल्डेन नोटबुक’ र म्याक्सिनको ‘द वुमन वारियर ।’ यसमा पनि मलाई सबैभन्दा रमाइलो के लाग्यो भने ती पुस्तक मैले निकालिरहेको थिएँ, जुन अहिलेका लागि अत्यन्त शक्तिशाली छन् । तर, यी पुस्तकले उनी कलेज पुगिसकेपछि त्यति प्रभाव नपार्लान् ।

यी पुस्तकबारे छोरीसँग कुरा गर्ने अवसर पनि पाउनुभयो ?
केही पुस्तकबारे छलफल गर्ने अवसर पाएँ । उनलाई फिल्ममेकर बन्नमा ठूलो रुचि छ । त्यसैले, कथाहरू पढ्नु उनका लागि रुचिको विषय हो । उनले केही अघि मात्र ‘अ मुभेबल फिस्ट’ पढेकी थिइन् । मैले त्यसलाई आफूले दिएको सूचीमा समावेश गरेको थिइनँ, तर उनलाई हेमिंग्वेले प्रत्येक दिन एउटा सत्य कुरा लेख्ने योजना बनाएको कुराले प्रभावित पारेको रहेछ ।

तपार्इंलाई के कुराले लेखक बनायो ?
म सानै हुँदादेखि पढ्न अत्यन्त मन पराउँथेँ । यस्तो किन पनि भने म अत्यन्त धेरै यात्रा गरिरहेको थिएँ । कतिपय अवस्थामा म एउटा आउटसाइडर हुन्थेँ । जस्तो, पहिलोपटक इन्डोनेसिया पुग्दा म कालो रंगको एउटा बालक थिएँ, जो बाहिर उभियो । त्यहाँबाट हवाई जाँदा फेरि म एउटा आउटसाइडर भएँ  किनकि ममा इन्डोनेसियाली बालकको स्वभाव थियो ।

त्यसैले, यी किताबहरूले मलाई ती संसारमा पनि सहज बनाए । त्यो संसार तपाईंको थियो, त्यसले तपार्इंलाई त्यो संसारमा जान सहज बनायो । अनि जब म टिनएजमा थिएँ, म त्यति पढिरहेको थिइनँ, स्कुलको कोर्सबुकबाहेक । बरु बास्केटबल खेलिरहेको हुन्थेँ, केटीहरूलाई जिस्क्याइरहेको हुन्थेँ ।

अनि कलेजको पहिलो वा दोस्रो वर्षमा मैले फेरि लेखन र अध्ययनबारे सोचेँ । र, पढेर र लेखेर आफूलाई रिबिल्ड गर्ने प्रक्रियामा लगेँ । त्यही समयमा मैले ‘ड्रिम्स फ्रम माइ फादर’ लेखिरहेँ ।

त्यो समय तपाईं न्युयोर्कमा हुनुहुन्थ्यो, के अत्यन्त धेरै पढ्नुहुन्थ्यो ?
म एउटा बन्धनमा थिएँ– यो साँचो हो । मसँग एउटा प्लेट थियो, एउटा गम्छा थियो र म कपडा पनि अत्यन्त सस्तो पसलमा किन्थेँ । र, म अत्यन्त गम्भीर थिएँ, हास्यरसविहीनजस्तो । तर, यसले मलाई फेरि शब्दहरूको शक्तिसँग नजिक बनायो । यसले मलाई आफू को हो र के सोच्छु भन्ने जानकारी दियो ।

त्यसैले मैले कलेज सक्दासम्म मलाई थाहा भइसकेको थियो, म पब्लिक नीति निर्माणमा इन्भल्भ हुन चाहन्छु । अनि मलाई एउटा इच्छा थियो, म निरन्तर केही लेख्न चाहन्थेँ र कथा भन्न चाहन्थेँ, जुन मेरा लागि महत्वपूर्ण थिए । अनि म कामबाट फर्किन्थेँ र आफ्नो जर्नलमा केही लेख्थेँ वा एक-दुईवटा कथा लेख्थेँ ।

सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने यो लेखनले मलाई व्यवस्थित कामका लागि पनि सहयोग गरिरहेको थियो । किनभने मलाई काम दिइरहेको मानिसले भनिरहेको हुन्थ्यो– मानिसहरूलाई नजिक ल्याउने उनीहरूको जीवनले मात्र होइन, उनीहरूले आफ्नो जीवनका कस्ता कथा बाँडिरहेका हुन्छन् भन्नेले पनि हो । उसले मलाई भन्थ्यो– अनि जब तपार्इं अरूका कथा सुन्न सक्नुहुन्छ, तब मात्र एउटा सम्बन्ध लामो समयसम्म कायम हुन्छ । त्यसैले मेरो राजनीति र पब्लिक सेवाको इच्छामा यो कथा भन्ने शैली सँगैसँगै आयो ।

तपार्इं कस्ता, छोटा कथाहरू लेख्नुहुन्थ्यो ?
यो रोचक छ । म जब ती कथा पढ्छु, ती कथामा बढी वृद्ध व्यक्तिबारे लेखिएको हुन्छ । मलाई लाग्छ, यसको कारण मेरो काम हो । किनकि, म त्यस्ता समुदायमा काम गरिरहेको थिएँ जहाँ अधिकांश व्यक्ति ५५ वर्ष पार गरिसकेका थिए । यो समुदायमा उनीहरूले आफ्ना सपना र आकांक्षा लगानी गरेका थिए, आफ्नो छोराछोरी हुर्काएका थिए । र, ती सबै बिस्तारै विलीन हुँदै थिए– किनकि, त्यहाँका स्टिल मिल बन्द हुँदै थिए । र, ती समुदायमा जातीय विभेद पनि बढ्दो थियो ।

त्यसैले मेरा कथामा पनि निराशा बढी थियो । मेरा छोटा कथाहरूमा पनि त्यही सेन्स थियो, त्यही वातावरण थियो । मेरो एउटा कथा एउटा बूढो पास्टरबारे थियो जसले आफ्नो चर्च गुमाउँदै थियो । उसले लिएको ‘लिज’ सकिँदै थियो । र, उसँग एकजना महिला थिइन्, जसले उनलाई सहयोग गरिरहेकी थिइन् । उनकी श्रीमती उनलाई जीवन सकिएको छैन भन्ने आभाष गराउन खोज्दै थिइन् ।

त्यसो हो भने तपार्इंको लेखक आफ्नो पहिचानको विषयमा थियो ?
हो, मलाई त्यस्तै लाग्छ । अझ त्यो समयमा त त्यही नै साँचो हो । लेखन मेरो जीवनमा यस्तो कुरा थियो, जसले हामीलाई परिवार, जातिजस्ता विषयमा हुने विभेद सहन सिकायो । अहिले मानिसहरू मलाई यो विषयमा अत्यन्त ‘कुल’ भएको टिप्पणी गर्छन् । अनि वास्तविक कुराचाहिँ के हो भने मलाई थाहा छ, म को हुँ र मेरा लागि के महत्वपूर्ण छ । र, मलाई लाग्छ, यो सब सम्भव भएको त्यही लेखनले हो ।

के तपाईंले राष्ट्रपति हुँदा पनि लेखिरहनुभयो ?
खासै लेखिनँ । मलाई मन लागे जति लेख्न पाइनँ । मसँग लेख्नका लागि खासै समय नै भएन ।

तर, जर्नल त राख्नुहुन्छ होला नि ?
हो, केही त राखेको छु । तर, त्यति अनुशासित भएर होइन, जति म हुनुपर्ने थियो । मेरो राष्ट्रपति कार्यकालमा मैले लेखेको महत्वपूर्ण कुराचाहिँ मेरा भाषण हुन्, कम्तीमा पनि ती भाषण जुन मलाई अत्यन्त महत्वपूर्ण लागे ।

यो भाषण लेखन र इतिहासको एउटा केन्द्रीय पात्र हुँदा, अन्य विभिन्न सामयिक सन्दर्भले तपार्इंभित्रको लेखकलाई कत्तिको प्रभाव पारेको छ ?
म यस विषयमा त्यति निश्चित छैन । मैले ममा परेको प्रभावबारे अर्को पुस्तक लेख्न सुरु गरेपछि थाहा पाउनेछु । तर, राम्रो भाषण लेख्दा पनि अन्य लेखनजस्तै हुन्छ–  के त्यो शब्द आवश्यक छ ? के यसमा राम्रो महसुस गराउने रिदम छ ?

यो चर्को भाषण गर्दा कस्तो सुनिएला ?
मलाई लाग्छ, भाषण लेखनले तपाईंलाई वास्तविक शब्दहरू सम्झाउँछ, त्यसमा शब्दहरूको आवाज आउँछ, शब्दहरूले गराउने महसुसको कुरा हुन्छ । यदि तपार्इं भाषण बिस्तारै पढ्दै हुनुहुन्छ भने पनि त्यसले आफ्नो शक्ति देखाउँछ । त्यसैले, यो सन्दर्भमा मलाई लाग्छ, त्यहाँ कन्सिस्टेन्सी हुन्छ ।

तर, यो त्यही कुरा हो, जसका कारण मैले राष्ट्रपति हुँदा बारम्बार केही फिक्सनहरू पढेँ । किनकि दिनदिनै मेमोहरू र प्रपोजलहरू पढ्दा दिक्क लागिसकेको पनि हुन्थ्यो । त्यसैले, मेरो मस्तिष्क पनि फिक्सनको कवित्व तथा फिक्सनको गहिराइमा पुग्न सक्दैनथ्यो । तर, उपन्यास किन पनि महत्वपूर्ण थियो भने त्यसमा मैले सत्य कुरा पढ्न पाउँथे, त्यसले मलाई सत्यतासँग नजिक ल्याउँथ्यो । 

त्यस्ता उपन्यास तथा लेखकको उदाहरण ?
मैले अन्तिमपटक पढेको उपन्यास हो, कोल्सन ह्वाइटहेडको ‘द अन्डरग्राउन्ड रेलरोड’ । र, यसले मलाई दासता कसरी एउटाबाट अर्को पुस्तामा सर्छ भन्ने सम्झाइदियो । खुला रूपमा मात्र होइन, दिमाग र हृदयमार्फत् पनि ।

भनिन्छ, एटिकस फिन्चको बिदाइ भाषणमा तपार्इंले भन्नुभयो, मानिसहरू स–साना आफ्नै घेराहरूमा एक्लै रमाइरहेका छन् । फिक्सनले सहयोग गर्न सक्छ, अगाडि लैजान सक्छ ?
हो, फिक्सनले अगाडि लैजान सहयोग गर्छ । म (उपन्यासकार) मारिलिन रोबिन्सनसँग एउटा मित्रतामा परेँ, अहिले हामी राम्रा साथी हौँ, कम्तीमा पनि एक–अर्कालाई हामीले चिठी लेखेका थियौँ । मैले उनलाई पढ्न थालेको चाहिँ ‘आई ओबामा’ हो, जहाँ ‘जिलियड’ र उनका अरू उपन्यास सेट गरिएका छन् । अनि मलाई उनको लेखन मन पर्‍यो । किनकि, उपन्यासका पात्रहरू तिनै थिए, जसलाई मैले दैनिक देखिरहेको थिएँ । र, ती पात्रको आन्तरिक जीवन, जसलाई उनले चित्रण गरेकी छिन्, तिनै थिए जसलाई मैले सधैँ देखिरहेको थिएँ, हात मिलाइरहेको थिएँ र भाषण पनि उनीहरूकै लागि गरिरहेको थिएँ ।

त्यसैले म सोच्छु, मानिसको जीवनका के भइरहेको छ भन्ने कुरा मैले उपन्यासबाट थाहा पाएँ, कम्तीमा पनि मेरो राष्ट्रपति कार्यकालमा मैले पढेको कुराले मलाई त्यो कुरा जानकारी दिए । यो एउटा निश्चित उपन्यास पढेकाले मात्र होइन, तर उपन्यास पढ्ने चाहनाका कारण भएको हो । र, मलाई लाग्छ, अध्ययनले मलाई त्यसका लागि पनि सहयोग गर्‍यो ।

अनि त्यस्ता समय पनि आयो जतिवेला म आफैँ पनि आफ्नो सोचबाट बाहिर निस्किन चाहन्थेँ । (उनी हाँस्छन् ।) कहिलेकाहीँ तपाईं फिक्सन यत्तिकै पढ्नुहुन्छ जतिवेला तपार्इं अरू कुनै ठाउँमा हुन पाउनुहुन्छ । 

त्यस्ता पुस्तकहरू कुन हुन् ?
यो रोचक छ । त्यस्ता पुस्तकहरू जुन म आफूलाई बाहिर लैजान चाहन्छु, ती विभिन्न पुस्तकको सम्मिश्रण हुन्छ– कुनै विज्ञान उपन्यास हुन्छन् । उदाहरणका लागि मैले पढेको एउटा विज्ञान उपन्यास हो, ‘थ्री बडी प्रब्लम’ शृंखला ।

ओ, ली सिक्सिनको, जसले ह्युगो अवार्ड जिते । 
जुन अत्यन्त धेरै काल्पनिक छ । र, अत्यन्त धेरै रोचक पनि । या कुनै एउटा पात्रमाथिको अध्ययनबारे मात्र थिएन । किनकि, यो पुस्तक अत्यन्त ‘स्विपिङ’ थियो ।

यो त खासमा ब्रह्माण्डको भाग्यबारे पो हो ।
ठ्याक्कै । यसको स्कोप अत्यन्त आकर्षक र ठूलो थियो । त्यसैले, यो पढ्न पनि अत्यन्त रमाइलो भयो । किन पनि भने मेरो दैनिक समस्याहरू संसद्मा पनि थिए, जुन आत्तिनुपर्ने थिएनन्, आखिर एलिएनहरू आउँदै न रहेछन्… (लामो हाँसो ) । त्यस्तै, ‘गोन गर्ल’ पनि मलाई अत्यन्त मन पर्‍यो । अत्यन्त राम्रोसँग बुनिएको र राम्रोसँग लेखिएको एउटा पुस्तक हो ।

के यी आठ वर्षमा तपार्इंलाई कुनै पुस्तकले अत्यन्त धेरै प्रभाव पारे ?
तपार्इंले यी आठ वर्षमा आफ्ना कसीका रूपमा कुन पुस्तकको नाम लिनुहुन्छ ? मलाई लाग्छ, सेक्सपियर सधैँ एक कसीका रूपमा रहिरहन्छन्  । अन्य टिनएजरजस्तै जब म हाइस्कुलमा थिएँ र हामीलाई ‘द टेम्पेस्ट’को काम दिइएको थियो, मलाई लागेको थियो– हे भगवान् ! कस्तो बोरिङ ! तर, मैले कलेजमा पुगेपछि फेरि सेक्सपियरकै कक्षा लिएँ र आफूलाई त्यसमा डुबाएँ । अनि मलाई लाग्छ, कसरी ती अत्यन्त आधारभूत कुराहरूले बुझाइलाई प्रभाव पार्छन् र केही प्याटर्नहरू आफैँ दोहोरिन्छन् जुन मानव व्यवहारसँग पनि जोड्न सकिन्छ ।

तपाईंले अन्य राष्ट्रपतिका आत्मकथा पनि पढनुभएको छ÷पढ्ने गर्नुभएको छ ?
आत्मकथाहरू सहयोगी भएका छन्, किनकि म सोच्छु, त्यहाँ एउटा बुझाइ हुन्छ, समझदारी हुन्छ, अहिले के भइरहेको छ र यो कसरी कुन समयसँग सम्बन्धित छ भन्ने थाहा पाउन र त्यसलाई बुझाउन त्यसको प्रवृत्ति हुन्छ । जस्तो कि, रुजभेल्टले दोस्रो विश्व युद्धलाई कसरी अगाडि बढाउन सके वा लिंकनले कुनै पनि मुद्दामा कसरी काम गरे वा २० माइलअगाडि दुस्मनहरू हुँदा म्याकक्लेलानले के गरे भन्ने पढ्न त्यस्ता आत्मकथाहरूले नै सहयोग गर्छ ।

अहिले हाम्रो यो जीवनभरमा नै हामी निकै धेरै परिवर्तन भइसक्यौँ, कति ठूलो परिवर्तन भइसक्यो !
र, यो त्यही कुरा हो जसले मलाई छोरीहरूले मैले ३० वर्षअघि वा ४० वर्षअघि पढिरहेका किताब बुकसेल्फबाट निकाल्दा आनन्दको अनुभूति हुन्छ । किनकि, म चाहन्छु, उनीहरूसँग एउटा धारणा होस्– तर कुनै उद्देश्यका लागि होइन, उनीहरूको आत्मविश्वास बढोस् भन्नका लागि मात्र । उनीहरूले के थाहा पाऊन् भन्ने लाग्छ भने दृढविश्वास, महत्वाकांक्षा र साहस भयो भने उनीहरूले कुनै पनि वस्तुलाई रिसेप गर्न सक्छन् । यसले उनीहरूलाई सुदृढीकरण गरिरहेको छ ।

र, यो समयमा तपाईं कस्ता पुस्तकहरू पढ्न सुझाब दिनुहुन्छ ?
यो कुरा त मैले ती व्यक्तिलाई सोध्नुपर्छ, जसले अहिले पनि पुस्तकहरू पढ्ने समय पाउनुभएको छ । नढाँटी भन्नुपर्दा चुनावयता म सोचेभन्दा अत्यन्त धेरै व्यस्त भएको छु । त्यसैले, अहिले मैले चाहिरहेकोचाहिँ केही साहित्यिक पुस्तकहरूको अध्ययन गर्नु हो । तर, यी सबैकुरा भन्दा पनि एउटा महत्वपूर्ण कुराचाहिँ के हो भने अहिले निकै धेरै युवा लेखक छन् जसले मैले पढ्नैपर्ने पुस्तक लेखिरहेका छन् । (लामो हाँसो ।) उनीहरू मभन्दाअगाडि छन्, अहिलेका लागि ।

अहिले त प्रविधि निकै छिटो अगाडि बढिरहेको छ, हामीमाथि सूचनाको बमवर्षा भइरहेको छ ।
हेर्नुस्, म उपन्यासको अस्तित्वबारे त्यति चिन्ता लिन्नँ । हामी कथा वाचन गर्ने प्रजाति हौँ । मलाई लाग्छ, राजनीतिक नेतृत्वको अगाडि बढिरहेको एउटा काम राम्रो कथा भन्नु पनि हो जसले हामीलाई सँगसँगै राखिरहन्छ । र, अमेरिका त झन् अद्वितीय छ, जसमा फरकफरक तत्वहरूको मिश्रण छ— हामी सबैको एउटै नश्लका होइनौँ, हामी एउटै जातिका होइनौँ, हामी सबै एउटै समयमा यहाँ आएका होइनौँ ।

हामीलाई विचारले सँगै राखिरहेको हुन्छ । हामी को हौँ र हामीलाई के महत्वपूर्ण छ भन्ने एउटा कथा हो जुन अत्यन्त महत्वपूर्ण । मलाई हामी यो कुरामा निरन्तरता दिन्छौँ भन्ने कुरा निश्चित गर्न मन छ ।

मलाई थाहा छ, तपाईंलाई जुनोट डायज र झुम्पा लाहिरीका किताब मन पर्छन्, र उनीहरूले किताबमा आप्रवासी र अमेरिकी सपनाबारे लेख्छन् ।
मलाई लाग्छ, लाहिरीका पुस्तक, मलाई लाग्छ डायजका पुस्तकले वर्तमानको आप्रवासी अनुभवबारे कडा आवाज राख्छन् । र, उनीहरूको पुस्तकमा यो पनि पाइन्छ– नयाँ ठाउँको खोजीमा लाग्नु र पनि आफू विस्थापित भएको महसुस गर्नु । यो अर्थमा पनि उनीहरूका पुस्तक अमेरिकी साहित्यसँग सम्बन्धित छन् भन्ने लाग्छ । त्यस्तै, फिलिप रोथ, साउल बेलोका पुस्तकहरू पनि महत्वपूर्ण छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org