ताजा समाचार

चन्द्रलाल झा : कलमको स्वाभिमानी सिपाही

सुनिलचन्द्र झाले लेख्नुभएको ‘चन्द्रलाल झाः कलमको स्वाभिमानी सिपाही’ नामक हालै प्रकाशित कृतिमा पत्रकारिता क्षेत्र आर्थिकरुपले सबल नभएको समयमा त्यसलाई व्यावसायिक बनाउन पत्रकार झाले गर्नुभएका प्रयासका बारेमा लेखिएको छ ।

सोे कृति पत्रकार झाको स्मरणमा उहाँको अवशानपछि छोरा सुनिलले सङ्कलन गर्नुभएको सामग्रीमा उहाँका लेख, सम्पादकीयले स्थान पाएका छन् । वरिष्ठ पत्रकार झाले विभिन्न समयमा गरेका मिहेनत र योगदानका बारेमा कृतिमा उल्लेख गरिएको छ ।

नेपालको पत्रकारिता क्षेत्रको विकासमा लामो समयसम्म सङ्घर्ष गरी त्यसमा योगदान गर्नुभएका चन्द्रलाल झाले किशोर नेपाल, पुरुषोत्तम दाहाललगायत हालका धेरैलाई चर्चित पत्रकारलाई पनि पत्रकारिता सिकाउनुभएको थियो ।

नेपाली भाषामा सन्तुलित विचारका साथ विषयलाई राजनीतिक मोड र घुम्तीमा घुमाउँदै सम्पादकीय लेख्नका लागि प्रेरित गर्ने झाले देशमा अभिव्यक्ति स्वतन्त्रता तथा मौलिक हक नभएको बेलामा पत्रकारमा शब्दको ज्ञान भएन भने पत्रकारिता क्षेत्र सशक्त हुन नसक्ने मान्यता राख्नुभएको विभिन्न लेखकको लेखबाट पुष्टि हुन्छ ।

पत्रकारितामा संलग्न रहेर राजनीतिक सङ्गठनको सदस्य बन्नु असङ्गत हो भन्ने मान्यता राख्नुहुने झाले दक्षिण एवम् पूर्वी एसियाका मुलुक पाकिस्तान, भियतनाम, जापान, संयुक्त राज्य अमेरिका तथा युरोपमा पनि कार्यपत्र प्रस्तुत गर्नुभएको कृतिबाट थाहा हुन्छ । स्वतन्त्र पत्रकारिताप्रतिको आस्था एवम् प्रजातान्त्रिक मूल्यमान्यताप्रतिको अनवरत निष्ठाका कारण उहाँ १५ पटक जेलजीवन भोग्न बाध्य हुनुभएको थियो ।

विसं २००७ अगाडिका महत्वपूर्ण राजनीतिक घटनाक्रम, निरङ्कुश पञ्चायतकालीन व्यवस्थामा जनतालाई चनाखो बनाउन लेखिएका लेखसमेत कृतिमा समावेश गरिएको छ ।

त्यसैगरी, साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले निष्ठावान् तथा कठोर व्यक्तित्वका रुपमा झाका बारेमा लेख्नुभएको छ । किशोर नेपाल, दुर्गानाथ शर्मा, नवीनप्रकाशजङ्ग शाह, राजेश्वर नेपाली, पुरुषोत्तम दाहाल लगायतका वरिष्ठ पत्रकारले उहाँका बारेमा देखेका र अनुभव गरेका विषयवस्तुलाई कृतिमा राखिएको छ ।

डा. नीलप्रसाद पन्तले ‘नेपालको पत्रकारिताका भीष्म पितामह स्व चन्द्रलाल झा र उनको नेपाल टाइम्स’ भनेर लेख्नुभएको छ । तराईको वीरगन्जमा विर्तावाल परिवारमा झाको जन्म विसं १९९४ माघ महिनामा भएको थियो भने विसं २०६९ साउन १२ गते मृत्यु भएको थियो ।

स्वतन्त्र प्रतिस्पर्धाका आधारमा आर्थिक विकासका अवसर सबैले समानरुपमा उपयोग गर्न पाउनुपर्छ भनी वकालत गर्ने झाले दरबार हाईस्कुलमा अध्ययन गरेको र उहाँको बाल्यकाल रमणीय र सुखसयलको वातावरणमा बितेको प्रसङ्ग समावेश गरिएका छन् । त्रिचन्द्र कलेजबाट बिएसम्मको अध्ययन गरेका झा देश र जनताको पक्षमा कलम चलाएकाले पटकपटक जेल बस्नु परेको कुरा उल्लेख छ ।

नेपाली भाषा शब्द भण्डारले सम्पन्न भएको मत राख्ने झा अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक नभएको समाज सम्पन्न हुन नसक्ने मान्यताबाट निर्देशित भएको प्रसङ्ग कृतिमा पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org