ताजा समाचार

चीनको ‘वान वेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गर्‍यो

काठमाडौं, २९ बैशाख । चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । उक्त ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल र चीनका अधिकारीहरुले हस्ताक्षर गरेका हुन् । शुक्रबार विहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।

परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए । परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, रोड र रेल वे कनेन्टीभिटी हाम्रा लागि महत्वपूर्ण छ । यसमा लगानी होस् भन्ने चाहन्छौं ।’ हामीलाई धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो । नेपालले सन २०१४ को सुरुमै ‘वान वेल्ट वान रोड’ अवधारणामा जाने प्रारम्भिक सहमती गरेको थियो । त्यसको तीन वर्षपछि दुई देशबिच सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनले ओबीओआर योजनाबारे जानकारी दिन वैशाख ३१ र जेठ १ गते बेइजिङमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसमा सहभागी हुन नेपालबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा ११ सदस्यीय टोली चीन जानेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org