ताजा समाचार

जितु नेपालले छोडे जिरे खुर्सानी

 

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्यटेलिश्रृंखला जिरे खुर्सानीबाट यसका ‘मास्टरमाइन्ड’ जितु नेपाल अलग भएका छन् । उनी यस टेलिश्रृंखलाका निर्देशक, लेखक तथा प्रमुख कलाकार थिए । आर्थिक तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि छोडेको उनले अनलाइनखबरलाई बताए ।

‘आफ्नो व्यस्तताबीच समय निकाल्नुपर्ने तर पैसा आउने सुनिश्चितता नहुने,’ उनले भने, ‘त्यसैले चाहेर पनि यसलाई निरन्तरता दिन सकिँन ।’ मिडिया हबले समयमा पैसा दिन नसकेर विगतमा पनि लामो समय जिरे खुर्सानी बन्द भएको थियो । तर, पुरानो पैसा चुक्ता गर्ने र अब पैसाको समस्या आउन नदिने भनेर आश्वासन पाएपछि २५ हप्ता अगाडिदेखि जितुले जिरे खुर्सानीलाई पुन अघि बढाएका थिए ।

तर मिडिया हब पुरानै समस्यामा देखिएको जितुले बताए । ‘उहाँहरु अहिले पनि आर्थिक समस्याबाट माथि उठ्न सक्नुभएको रहेनछ,’ उनले भने, ‘उहाँहरुले समयमा पैसा दिन नसक्दा मैले कलाकारहरुलाई पारिश्रमिक दिन सकिनँ ।’ जितुले उदाहरण दिँदै भने, ‘बिना पैसामा मैले राजाराम पौडेल जस्ता दिग्गज कलाकारलाई कसरी काम गराउन सक्छु ?’

जितुले छोडे पनि मिडिया हबले कार्यक्रमलाई निरन्तरता दिने छ । पहिले सहायक निर्देशकको रुपमा रहेका निरज नेपालले यसको निर्देशन गर्नेछन् । आगामी हप्ताबाट ‘निर्देशन सल्लाहकार’ भनेर जितुको नाम आउनेछ । तर, उनले काम गर्न छोडिसकेका छन् । जितुले मिडिया हबसँग जिरे खुर्सानी निर्माणका लागि आगामी असारसम्मको सम्झौता गरेका थिए । सोही सम्झौता बमोजिम उनको नाम असारसम्म आउने भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org