ताजा समाचार

दिपक मनाङे बिरुद्द रेडकर्नर नोटिस जारी 

काठमाडौं,४ चैत । फरार रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दिपक मनाङे बिरुद्द  इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । मनाङे  देशबाहिर रहेको सूचना पाएपछि  प्रहरीले अपराध अनुसन्धान विभागको पहलमा इन्टरपोलमा रेडकर्नर  नोटिस जारी गरेको हाे । 

प्रहरी स्रोतका अनुसार इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ।

मनाङे अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन्।

यसअघि फेब्रुअरी २२ मा इन्टरपोल नेपालले मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै  कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले  उन रेडकर्नर नोटिस जारी गरेको थिएन।

मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो।

 

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भयो। त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो।

२०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो।

सोही  घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।

उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन्। पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाइ दिँदै मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org