ताजा समाचार

दोस्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते गर्ने सरकारको निर्णय

काठमाडौं १० बैशाख । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले चार वटा प्रदेशमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।

बैठकले प्रदेशको सीमांकन हेरफेर गर्नुपर्दा सम्बन्धित प्रदेशको सिफारिशको आधारमा गर्न सकिने निर्णय गरेको छ। यसअघि सीमांकन हेरफेर गर्दा सबै प्रदेशको परामर्श आवश्यक रहने व्यवस्था रहेको थियो । यस्तै संशोधन प्रस्ताव परिमार्जनसहित संसदमा प्रस्तुत गर्ने र त्यसलाई फास्टट्रयाकमार्फत पारित गराउने पनि बैठकले निर्णय गरेको कार्कीले जानकारी दिए ।

यस्तै संघीय आयोगमा समानुपातिक र समावेशी शब्दावली थप्ने निर्णय पनि बैठकले निर्णय गरेको छ भने प्रदेश नम्बर २ र ५ मा स्थानीय तह थप्नको लागि अध्ययन गर्न बनाइएको कार्यदलको समयावधि थप गर्ने निर्णय भएको छ । उपप्रम तथा संघीय मामिला एवम् स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा बनेको उक्त कमिटीमा अरु असन्तुष्ट दलहरुलाई पनि सहभागि बनाइने समेत सरकारको निर्णय छ ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित भइसकेपछि सीमांकन आयोग गठन गर्ने निर्णय समेत गरेको छ भने परिमार्जनसहितको संशोधन प्रस्तावलाई स्वीकार गर्न प्रतिपक्षी दलसँग आग्रह गरेको छ ।

बैठकले बैशाख ३१ को चुनावका लागि उम्मेदवारी दर्ताको समय बढाउन निर्वाचन आयोगसँग आग्रह गर्ने पनि निर्णय गरेको छ । आयोगले १६ गतेको लागि उम्मेद्वारी दर्ताको मिति तोकेकोमा सरकारले अधिकतम तीन दिन बढी समय दिन आयोगसँग आग्रह गर्ने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org