ताजा समाचार

नेपाली साहित्यिक कृति संख्या धेरै,गहिराई कम : पुजा पराजुली,साहित्यकार (अन्तवार्ता )

नेपाली साहित्यमा दिन दुई गुना र रात चार गुनाका दरले नयाँनयाँ प्रतिभाहरुको आगमन भईरहेको छ । पछिल्लो समय साहित्यतर्फ युवाको आकर्षण बढेको देखिन्छ । युवाको पठनशैली फेरिँदै गएकाले लेखक पनि युवाको मनोकांक्षा र रूचिलाई खोतल्न थालेका छन् । साहित्यको पछिल्लो परिवेशलाई नियाल्दा युवा पुस्ताले मन पराउने लेखक पनि प्रायः युवा नै भेटिन्छन् । आफूलाई राम्रो लेखक भनेर बजारमा तहल्का पिट्दै हिँड्ने लेखकहरू पनि नभएका होइनन् । आफ्नो लेखन शैली स्तरीय होस् या नहोस् जर्बजस्ती पुस्तक निकाल्न तम्सिने प्रवृत्तिले गर्दा नेपाली साहित्य कमजोर बन्दै गएको मान्ने वर्ग पनि छन् ।  

नयाँ पुस्ताको ध्यान साहित्यमा तान्नका लागि लेखकहरूले चर्को प्रचारबाजी पनि गरेका छन् । तर, लेखनशैली स्तरीय छैन भने जति प्रचार गरे पनि लेखकलाई लामो समय साहित्यमा टिक्न कठिन हुन्छ । साहित्यमा नयाँ-नयाँ प्रतिभाहरुको विशेष चर्चापरिचर्चा भइरहँदा यसै क्रममा उदाएकी एक प्रतिभाशाली नारी हस्ताक्षर हन् पुजा पराजुली । २०५० साल साउन २१ गते  ४ गते कास्की जिल्लाको भदौरे तमागीमा पिता  बद्रीनाथ पराजुली र माता पार्वती पराजुलीको कोखबाट जन्मिएकी पराजुलीले दर्जनौं साहित्यिक रचनाहरु रचेकी छन् । सानैदेखि साहित्यमा गहिरो रुचि भएकै कारण उनले अहिले साहित्य लेखनलाई अघि बढाई रहेकी छन् । उनका रचनाहरुमा समाजको यथार्थपन पाइन्छ । काल्पनिकता पाइन्छ । प्रायः प्रेम र नारीको विषयमा लेख्न रुचाउने पराजुलीका रचनाहरु थुप्रै पत्रपत्रिकामा प्रकाशित भएका छन् । छिट्टै कविता संग्रह र उपन्यास लेखनको तयारीमा लागेकी नव साहित्यकार पराजुलीसँग न्युज–नेपाल का पत्रकार रमेश दवाडीले गरेको कुराकानी  : 

साहित्यमा रुचि लाग्नुको कारण के हो ?

सानो छँदा हिमाल, नेपाल, लालीगुराँस आदि आदि शीर्षकमा कविता लेख्ने गर्थें । स्कूल पढ्दा भ्रष्टाचारविरुद्धको कार्यक्रममा भ्रष्टाचार सम्बन्धी कविता बनाएर सुनाएँ । सबैले एकदम राम्रो छ भने । त्यसले पनि मलाई हौसला प्रदान ग¥यो । अनि त्यसपछि झन कविता लेख्दै गएँ । सुनाउँदै गएँ । त्यसैले पनि मलाई साहित्यप्रति रुचि बढ्दै गयो ।

कति वर्षदेखि साहित्य लेखन थाल्नुभयो ?

८, ९ वर्षदेखि नै कविता लेख्ने गर्थें । तर,मलाई त्यतिखेर साहित्य भनेको के हो थाहा थिएन । डायरीमा लेख्थें । घरका सदस्यलाई सुनाउनें ।

अहिलेसम्म कतिवटा साहित्य सिर्जना गर्नुभयो,याद छ ?
ठ्याक्कै याद छैन् ।

पहिलो रचना याद छ के लेख्नु भएको थियो ?
मैले माथि नै भनिसकेकी छु । भ्रष्टाचारविरुद्धको कार्यक्रममा भ्रष्टाचार सम्बन्धी कविता नै लेखेकी थिएँ ।
कविताको केही अंश :

पुग्यो अब घर जग्गा पुग्यो ।
पैसा पनि पुग्यो ।
पैसाले नै भरियो पानी टयाङ्की पनि !
भने जस्तै भयो, सबै जग्गाजमिन घर भएपछि,
अहिले अख्तियरले समाउछ कि भन्ने लाग्न थाल्यो डर ।

तपाईंलाई सबभन्दा बढी के लेख्न मन लाग्छ , कविता, गजल वा कथाा ?
मैले सुरुमा गजल मात्रै लेखें । अहिले चैं कविता, गजल र कथा सबै लेख्दै आइरहेकी छु ।

उसो भए तपाईं कवयत्री कि, गजलकार कि कथाकार के भन्ने ?
हाहाहा…(लामो हाँसो) ।  म एक साहित्यप्रति रुचि भएको मान्छे हुँ । अहिलेसम्म यो नै हुँ भनेर चिनीएकी छैन ।

कस्ता साहित्य सिर्जना गर्न मन लाग्छ, यथार्थ वा काल्पनिक ?
म प्रायः यथार्थतामा आधारित भएर लेख्ने गर्छु । तर,कल्पनामा डुबुल्की मार्दाको आनन्द भने छुट्टै हुन्छ ।

साहित्यलाई पछिसम्म निरन्तरता दिने सोच हो ?
कपाल सेतै होस्,गाला चाउरीएको किन नहोस् अनि कमजोर आँखामा चश्मा किन नहोस् ! भोलिका दिनहरुमा पनि अगाडी कापीको पाना र कलम हातमा हुन्छ जस्तो लाग्छ । त्यसो त म अझै साहित्य के हो ? जीवन के हो बुझ्दै छु । समय र परिस्थितिले साथ दिए  पछि आत्मसन्तुष्टिको लागि पनि एउटा उपन्यास लेख्न  मन छ ।

तपाईंले धेरै साहित्य सिर्जना गरिसक्नु भएको रहेछ । चर्चामा आउन नचाएको कि चर्चित नभएको ?

चर्चामा आउन नचाहेको हो । किनकी म जति लेख्छु त्यो डायरी मै लेख्छु । साथीहरुलाई सुनाउँछु । मैले आफूलाई चर्चित कवि, लेखक भनेर चिनाउन खोजेकी छैन । मैले राम्रा रचना कसरी लेख्ने भन्नेमा नै मेरो ध्यान केन्द्रित भएको छ । म जति लेख्छु आत्मसन्तुष्टिको लागि लेख्छु । मेरा रचना सुन्ने र पढ्नेहअरुले ‘राम्रो छ’ भन्नुहुन्छ खुसी लाग्छ ।

साहित्य यात्रालाई कसरी अघि बढाईरहनु भएको छ ?
नेपालमा रहुन्जेल त ठिकै थियो । तर,परदेशमा सबै ‘म्यानेज’ गर्न एकदमै गाह्रो हुने रहेछ । तर,पनि आफ्नो देश, माटो र भाषाले गर्दा साहित्यप्रति उत्साह जाग्ने रहेछ । यो उत्साहलाई निरन्तरता दिने प्रयासमा छु ।

हिजो र आजमा नेपाली साहित्यमा कस्ताकस्ता परिवर्तन आएका छन् ?

परिवर्तन धेरै भएको छ । राम्रा परिवर्तन पनि भएका छन् र नराम्रा पनि भएका छन् । नेपाली साहित्यको विकास त भएको छ । तर, विषयको मिठास र गहिराईमा पुगेर लेखिएका रचना भने कमै छन् ।

साहित्यमा राम्रा र नराम्रा परिवर्तनहरु छन् भन्नुभयो । राम्रा कस्ता परिवर्तन भए, नराम्रा के भए ?
पहिले साहित्यमा कमै मान्छेको मात्र रुचि हुन्थ्यो । अहिले धेरैको आकषर्ण बढेको देखिन्छ । युवाहरुको पनि चासो बढेको छ । एउटा साहित्यिक मानिस भन्ने वित्तिकै एउटा हातमा कलम,अर्को हातमा चुरोट अनि रक्सी हुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पारिजात, भवानी भिक्षु, लेखनाथ पौड्याल लगायतका साहित्यकारहरुले लेखेका रचनाहरु युगौं युगसम्म बाँच्छन् । उनीहरुका शब्द चयनदेखि भाषिक शिल्पशैलीले पाठकलाई आकर्षित गर्छ ।  तर,अहिले एकाद साहित्यकार बाहेक अरुको सिर्जनामा भाषा, शब्द चयन र शैलीमा अलि बढी उशृङखल र हलुका लेखन बढी भएको मैले पाएकी छु । त्यसो त यहाँ धेरै रचना लेख्ने वित्तिकै आफूलाई साहित्यकार ठान्नेहरु धेरै छन् । समग्रमा भन्नुपर्दा नेपाली साहित्यमा कृति सङ्ख्या धेरै छन् । तर, विषय वस्तुको गहिरार्इसम्म पुगेर लेखिएका कृति भने कम छन् ।  सिर्जना खहरे झै बनेका छन् । जुन आउँछन्-जान्छन् । त्यसले खासै महत्व राख्दैन ।

लेख्नुभन्दा पहिले अध्ययन–अनुसन्धान जरुरी हुन्छ । तपाईं कत्तिको अध्ययनशिल हुनुहुन्छ ?
आफूले लेख्ने विषयमा गहिरो ज्ञान हुनुपर्छ । विषयवस्तु बुझेको हुनुपर्छ । नत्र लेख्न सकिदैन । म पुस्तकहरु अध्ययन गर्छु । हर विषयलाई सुक्ष्म रुपमा अध्ययन गर्ने कोसिस गरेकी छु ।

प्रवासमा कस्तो छ साहित्यको माहोल ?
प्रवासमा साहित्यको माहोल राम्रो छ । विदेशमा बस्ने नेपालीहरुले आफ्नो देश सम्झेर साहित्यिक रचना गर्छन् । अहिले त झन चर्चित लेखकहरुको उपन्यासहरु ईन्टरनेटमा पढ्न पाईन्छ । प्रविधिको माध्यमका कारण पनि प्रवासीहरुले साहित्यप्रति चासो देखाएको देखिन्छ । प्रविधिको परिवर्तनले साहित्यलाई सहज बनाएको छ । गजल, मुक्तक, कथा, कविता आदि लेख्ने गरेको देखिन्छ ।

अबको साहित्यिक योजना के छ ?
खासै केही छैन । प्रवासमा भएकी हुनाले समयको पनि अभाव छ । काम गर्नुपर्छ । तै पनि केही समय छुट्याएर साहित्यमा लागेकी छु ।

यो पनि पढ्नुहोस् । 

http://news-nepal.com/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE-%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE/

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org