ताजा समाचार

न्यायालयलाई व्यवस्थित बनाउँछु : गोपाल पराजुली, कामु प्रधानन्यायाधीश

२०४८ साल कात्तिक १८ गते पुनरावदेन अदालत, पाटनको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका गोपाल पराजुली हालै कायममुकायम प्रधानन्यायाधीश नियुक्त भएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि सर्वाेच्चका वरिष्ठतम न्यायाधीशका हैसियतमा उनले यो जिम्मेवारी पाएका हुन् । बुबा  एकदेव पराजुली र आमा नन्दकुमारी पराजुलीका ६ जना छोरामध्येका काइँलो गोपाल २०१० साल वैशाख १६ गते काहुशिवपुर–६ तनहुँमा जन्मेका हुन् ।  १० वर्षको उमेरमा पिताको र २० वर्षको उमेरमा माताको निधन भएको थियो उनको । विद्यार्थी कालमा अत्यन्तै मेधावी छात्र पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्म अध्ययन गरेका हुन् । सर्वोच्च अदालतको न्यायाधीशका रुपमा उनले २७ मे सन् २०१४ बाट जिम्मेवारी सम्हाल्दै आएका थिए । न्यायसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध उनी तालिमको सिलसिलामा जर्मनी, लक्जेम्बर्ग, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, भारत, अमेरिका, कोरियालगायत मुलुक पुगेका छन् ।

कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध चिसिएका बेला सर्वाेच्च न्यायिक निकायको नेतृत्व सम्हाल्ने मौका पाएका पराजुलीसँग न्युज-नेपालका सम्पादक सजिब कालाखेतीले गर्नुभएको छोटो कुराकानी :

 

इजलासमा रहेको अवस्थामा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भयो र तपार्इंले कायममुकायमको जिम्मेवारी पाउनुभएको छ, यस घटनालाई कसरी लिनुभएको छ ?

न्यायालयका लागि यो दुःखद घटना हो । न्यायिक इतिहासमा यस्तो कार्य नहुनुपथ्र्यो तर संसद्ले के ग¥यो, यो विषयमा मैले बोल्न मिल्दैन । त्यसपछि मलाई जुन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्राप्त भएको छ, यसलाई म संविधान र कानुुनले दिएको अधिकार सम्झी निष्पक्ष र प्रभावकारी रुपमा पूरा गर्नेछु ।
प्रधानन्यायाधीश कार्कीलाई व्यक्तिगत आचरणबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरकफरक व्यवहार गर्ने र गुटबन्दी गर्ने गरेको आरोप लागेको छ नि ?
म न्यायालयमा गुटबन्दी गर्नुहुँदैन , सिनियरको तेजोवध हुने गरी कनिष्टको व्यवस्थापन गर्दिनँ र न्यायालयलाई अरु व्यवस्थित, परिष्कृत र परिमार्जित गर्दै लानेछु ।

न्यायालय प्रविधिमैत्री छैन भनिन्छ नि ?
हो, जति प्रविधिमैत्री हुनुपर्ने हो, त्यो हुुन सकेको छैन । न्यायालयले गरेका फैसला हेर्नुभयो भने अन्तर्राष्ट्रिय स्तरका छन् । तर, त्यो कुरा हामीले विश्वलाई देखाउन सकेका छैनौं । खाली अरुको हेछौं, हाम्रा फैसलाहरु उत्कृष्ट हुँदाहुँदै  प्रविधिकै कारण अरुलाई देखाउन सकेका छैनौं ।  प्रविधिमैत्री बनाउनेमा मेरो पहल रहनेछ । अर्को कुरा, तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्नेतर्फ मेरो ध्यान जानेछ । मैले असहज परिस्थितिमा पद सम्हालेको छु । यो बीचमा न्यायालय अझ निर्भीक र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने प्रयास गर्नेछु । न्यायमा सबैको पहुँच पुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org