ताजा समाचार

पुराना लोकगीतलाई अगाडि ल्याउँछु : अञ्जना सारुमगर,इमेज लोक कलाकारको उपाधि विजेता

पाल्पामा लोकगीत गाउँदै हुर्किएकी अञ्जना सारुमगरले भर्खरै इमेज लोक कलाकारको उपाधि जितेकी छन् । दुई वर्षअघि संगीत पढ्नकै लागि पाल्पाबाट काठमाडौं आएकी उनी ललितकला क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । इमेज टेलिभिजनमा प्रसारण भएको लोकगीत रियालिटी शोको विजेता अञ्जनासँग गरिएको  कुराकानी :

इमेज लोक कलाकारसम्म कसरी पुग्नुभयो ?
पहिलेदेखि संगीतमा रुचि थियो । कम्पिटिसनहरू कहाँ हुन्छ भनेर खोज्थेँ । इमेजमा स्टेज फर्फरमेन्स हुँदैछ भन्ने थाहा पाएँ । त्यहीँ गएर फर्म भरेँ ।

गीत कहिलेदेखि गाउन थाल्नुभयो ?
रुचि सानैदेखि थियो । तर, परिवारबाहेक कसैलाई थाहा दिएकी थिइनँ । विद्यालयमा वा अन्त कतै कार्यक्रम हुँदा कहिल्यै भाग लिइनँ । अहिले विनर भएपछि सबैले थाहा पाए ।

लोकगीतमा रुचि कसरी ?
गाउँमा लोकभाका नै चल्छ । त्यही सुनेर मलाई पनि यसमै रुचि बढ्यो ।

यो सफलता कल्पना गर्नुभएको थियो ?
पाल्पामा हुँदासम्म सोचेकै थिइनँ । सोच्ने कुरा पनि आएन ।
स्टेज पर्फरमेन्सको अनुभव कस्तो रह्यो ?
अडियन्सको अगाडि पुग्दा डर, अप्ठ्यारो लाग्दो रैछ ।
लोकगीत नै किन ?
हाम्रो संस्कृति हराउँदै गइरहेको छ । कोही न कोही त जिम्मेवार हुनै पर्‍यो ।
लोकगीत गाउन संगीत पढ्नुपर्छ र ?
पढ्यो भने सुरताल चिनेर गाउन सकिन्छ । लोकगीतमा आफ्नै किसिमको मिठास हुन्छ । संगीतको ज्ञान भए त्यसमा झनै मिठास भर्न सकिन्छ । संगीत सिकेपछि धेरै सजिलो हुँदो रहेछ ।
लोकगीतबाहेक अरू गीत नगाउने ?
गाउँदिन नै भन्न त सक्दिनँ, तर लोकगीतलाई छोड्दिनँ ।
लोकगीतमा देखिएको छाडापनलाई कम गर्न तपाईंजस्ता बुझेका संगीतकर्मीको भूमिका के हुन्छ ?
अग्रज कलाकारलाई डोमिनेट गर्न मिल्दैन । अडियन्सको अगाडि राम्रोसँग प्रस्तुत हुन राम्रै गीत चाहिन्छ ।
लोकगीतको क्षेत्रमा कस्तो परिवर्तन ल्याउन चाहनुहुन्छ ?
परिवर्तनभन्दा पनि आफूले सक्ने जति गर्छु । पुराना लोकगीतलाई अगाडि ल्याउँछु । अडियन्सको रुचिलाई पनि ध्यानमा राख्नुपर्छ । मौलिकता जोगाउने प्रयास गर्छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org