ताजा समाचार

प्रचण्डले जनयुद्धका बेला भारतीय जंगलमा तालिम दिएका थिए


काठमाडौं, २ जेठ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय मिडियामा चर्चामा आएका छन् । नेपालमा दुई दशकदेखि हुन नसकेको स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न गराएका प्रचण्ड यतिवेला भारतीय मिडियामा निकै चर्चामा आएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।


सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादी अध्यक्ष रहेका ‘प्रचण्ड’ले भारतको झारखण्डमा भारतीय नक्सलवादीलाई हतियार चलाउन सिकाएको एक भारतीय नक्सलवादी नेताले दाबी गरेका छन् । सोही विषयका बारेमा भारतीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

राँचीमा नक्सलवादीका कमाण्डर कुन्दन पाहनले ‘प्रचण्ड’सँग आफूले तालिम लिएको दाबी गरेका हुन् । भारतीय संचारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कुन्दन पाहनले सन् २००० मा आफूले नेपालका माओवादी नेता ‘प्रचण्ड’सँग तालिम लिएको प्रहरीसमक्ष जनाएका छन् । पाहनले हालै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

झारखण्डको बोकारोसँगै जोडिएको जंगलमा प्रचण्डसँगै पश्चिम बंगालका केही नेताको टिमले आफूसहितका कयौंलाई तालिम लिएको उनले खुलासा गरेका हुन् । आफूहरुले उक्त समयमा गुरिल्ला युद्धसम्बन्धी कला र रणनीति सिकेको पनि उनले बताए । केही संचारमाध्यमले भने प्रचण्डले पनि त्यतिबेला भारतीय नक्सलवादी नेताहरुसँग महत्वपूर्ण कला सिकेको जनाएका छन् ।

पाहनले आफू पनि प्रचण्डजस्तै मूल धारको राजनीतिमा आउन चाहेको बताएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्री बनिसकेको जिकिर गर्दै उनले आफू पनि मुल धारको राजनीतिमा आउन चाहेको बताएका हुन् । उनीमाथि हाल झारखण्डको विभिन्न जिल्लामा १ सय २८ वटा मुद्दा विचाराधिन छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org