ताजा समाचार

बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास

काठमाडौँ, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताउनुभयो । चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गर्नुभयो ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुग्नुभएको थियो । उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

 उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट गर्नुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीको पनि उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org