ताजा समाचार

लिखित सम्झौता गर्न वाम गठबन्धन अनिच्छुक

काठमाडाै‌ं, ५ चैत। संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिएको छ ।

राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान खोजेका उपेन्द्र यादवले लिखित सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री उत्साहित नदेखिएको बिफ्रिङ पार्टीमा गरेका छन् ।

यादवले संविधानको धारा २७४ लगायत केही धारा उल्लेख गरेर संविधान संशोधन आपसी सहमतिमा गर्ने भन्ने लिखित सम्झौता गर्न खोजेका छन् । तर वाम गठबन्धनका नेताहरुले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन आपसी समझदारीमा गर्ने सैद्धान्तिक सहमति गरे पनि लिखित सम्झौता आवश्यक नभएको बताएका छन् ।

प्रधानमन्त्री ओली संघीय समाजवादी फोरमलाई दुई मन्त्री सहित एक राज्यमन्त्री दिन सहमत छन् । मन्त्रिपरिषद बिस्तार गर्दा पनि फोरमलाई दुई मन्त्रालय राखिएको छ । प्रधानमन्त्रीपछिको दोस्रो बरियता पाए उपेन्द्र यादवकै नेतृत्वमा सरकार जान फोरम तयार छ ।

सरकारमा उपेन्द्र यादव जाने सहमति भइसके पनि बाँकी एक मन्त्री र राज्यमन्त्रीको टुंगो सरकारमा जाने निश्चित भइसकेपछिमात्र हुनेछ । फोरमबाट प्रतिनिधिसभाका १६ र राष्ट्रियसभाका दुई सांसद छन्,र उनीहरु सबै मन्त्रीका आकांक्षी हुन् । राजेन्द्र श्रेष्ठ, रेणु यादव,रामसहाय यादव,प्रदीप यादव, मोहम्मद इस्तियाक राई लगायतका नेता मन्त्रीका प्रमुख दाबेदार हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org