ताजा समाचार

वन मुलुक समृद्धिको आधार हो : मन्त्री बस्नेत

काठमाडौँ, ५ चैत । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि छ, यसमा सुशासन अनिवार्य शर्त हुनुपर्छ ।” वन क्षेत्रमा थोरै लगानीमा उचित व्यवस्थापन गर्न सके जनताका आवश्यकता पूर्ति, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उहाँको विश्वास थियो ।

“वन क्षेत्रको उचित सदुपयोग र व्यवस्थापन गरेर मुलुकमा विदेशी काठको आयात विस्थापनका साथै काठको निर्यातसमेत गर्न सकिन्छ”, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहमा वन क्षेत्रको व्यवस्थापनका लागि नीतिगत र संरचनागत पुनःसंरचनाको अवश्यकता औँल्याउनुभयो ।

उहाँले वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री नियुक्त भएलगत्तै वन तथा वातावरण क्षेत्रका सबै सरकारी निकाय र सरोकारवाला विज्ञसँगको चरणबद्ध छलफलमा जुट्नुभएका मन्त्री बस्नेतले यस क्षेत्रको जानकारीपछि कार्यान्वयनमा अघि बढ्ने अवगत गराउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org