ताजा समाचार

विश्वासले बित्यास् पार्ला है !

अस्तिमात्र भक्तपुरमा पारस कोइरालाले आफ्नै मामाको छोरालाई खुकुरी हानी हत्या गरेको समाचार सार्वजनिक भयो । हत्यापछि भागेका कोइरालालाई प्रहरीले धादिङको गजुरीबाट पक्राउ गर्यो । कौशलाटारस्थित आफ्नै घरमा बसिरहेका बेला आफ्नै सबैभन्दा नजिकका पारिवारिक आफन्तले खुकुरी प्रहार गरी हत्या गरे । हत्याको कारण अरु केही नखुलाएपनि कोइरालाले मामाको छोराले सधैभरी आफुलाइ सधै जिस्काउने, होच्याउने गरेका कारण हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन ।

चैत्र ११ गते सबैजसो सञ्चारमाध्यमा प्रकाशित ‘पोल खुल्ने डरले प्रेमिकाको हत्या’ शिर्षकको समाचारले विश्वास, प्रेम, नाटक र हत्यालाइ एकैपटक फनफनी घुमाइदियो । प्रेमको नाममा रचिएको स्वार्थी नाटकलाइ वास्तविक ठानेर पुरै विश्वासमा गर्दा २५ वर्षिया राधिका श्रेष्ठको अकालमा ज्यान गयो । उनका नाटकीय प्रेमी भक्तपुरका २८ वर्षिया प्रकाश लामिछानेको असली करतुत पनि सार्वजनिक भयो । पहिले आफ्नी प्रेमिकालाइ उपयोग गरेर व्यापारी अपहरण गर्ने, तिनै प्रेमिकालाइ अघि सारेर फिरौती असुल्ने अनि तिनै प्रेमिकाबाट आफ्नो कामको पोल खुल्ला भन्ने भयका कारण हत्या गरेर खाडलमा पुर्ने कस्तो माया प्रेम हो यो ? सायद राधिकाले यो अवस्थाको आंकलन समयमै गरेकी भए पक्कै नि यस्तो अवस्था भोग्नुपर्ने थिएन । प्रेमको नाटक गर्दै घटाइएका यस्ता घटनाहरुको शृखला लामै छ ।

व्यापारी श्यामसुन्दर अग्रवालको अपहरण र फिरौती मात्रै होइन गत फागुन महिनामा मात्रै राजधानीमा यस्ता अपहरणका तिनवटा घटना सार्वजनिक भए । यि तिनवटा उस्तै प्रकृतिका घटना र उस्तै प्रवृतिका व्यक्तिमार्फत उही खाले प्रयोजनको लागि भए गरेको देखिए पश्चात पैसा कमाउने छिटो छरितो र सजिलो माध्यमको रुपमा व्यक्ति अपहरण, फिरौती अनि हत्या हुने गरेको बताउँछ प्रहरी प्रशासन । राजधानीमा मात्रै होइन यस्ता घटनाका शृखलाहरु देशभरी जहीतही घट्ने गरेका छन कतिपय सतहमा आइपुग्छन कतिपयको सुइको समेत थाहा हुँदैन ।

आफुले आत्मैदेखी मन पराएको, जीवन जिउने कसम खाएको व्यक्तिप्रति यति धेरै आक्रामक किन भइरहेको छ आफ्नै जोडी ? प्रकाश लामिछानेले पनि आफ्नी प्रेमिका राधिकालाइ विहेको आश्वासन दिएका रहेछन । सायद युवतीहरु चाँडै प्रेमिको विश्वासमा पर्छन भन्ने मनसाय प्रकाशले बुझेका थिए र राधिकालाइ पगाल्न सफल भएपनि तर परिणाम कालरात्रीको रातजस्तै चकमन्न बन्न पुग्यो । राधिका र प्रकाशको जोडीमात्र होइन, हजारौं राधिकाहरु आफ्ना प्रेमीको यस्तै विश्वासमा पर्दा विलखबन्धमा फस्दै गइरहेका छन । प्रहरी प्रशासनमा आफु ठगिएको, आफ्नो चरित्र हत्या गरेको जस्ता उजुरी लिएर दिनहु प्रहरी प्रशासनमा धाउने प्रताडित युवतीको सख्या धेरै छ । स्वयम प्रहरी प्रशासनलाइ समत टाउको दुखाइको विषय बन्दै गइरहेको छ । बढ्दो सामाजिक सजालको प्रयोगका कारण व्यक्तिसँग चिनजान नभइकनै विश्वासमा पर्ने, सबैकुरा साटासाट गर्ने अनि अन्त्यमा कि धोका खाने कि उही प्रेम गरेको व्यक्तिको हातबाट मारिनुपर्ने यस्ता शृखलाहरु दैनिकरुपमा बढ्दै गइरहेका छन ।

केही समयअघिको एउटा घटना अहिलेपनि झलझली आँखावरिपरि घुमिरहेको छ । चिनेकी एक साथी तिनवर्षदेखी विदेशमा रहेका प्रेमीको मायाँजालमा फसेकी थिइन । प्रेमीले अर्को वर्ष स्वदेश फर्केपछि बिबाह गर्ने आश्वासन दिएका थिए । उनि विश्वस्त थिइन् । आपसी सहमतीमा प्रेमीको धेरै करकापपछि बाध्य भएर उनले आफ्नो नग्न तस्बिर आफ्ना प्रेमीलाई फेशबुकबाट पठाइछन् । पछि प्रेमीले उनिसँग वदलावको भावना लिन थाले, मैले विहे गर्ने होइन यो त नाटक मात्र हो । पाँच लाख आफ्नो खातामा जम्मा गरिदिने हो भने नाँगो फोटो गोप्य राख्ने नत्र सबैतिर फिजाइदिने धम्की दिएपछि आकाशबाट खसेजस्तै भइन । तीननवर्षसम्म माया, विश्वास गरेको प्रेमी अपराधी जस्तै बन्न थाल्यो । प्रहरी प्रशासनमा उजुरी गरिन, तर प्रहरीले उल्टै उनैलाइ थर्कायो, उता विदेशबाट प्रेमिले बारम्बार धम्काउन छाडेको थिएन । तनावमा रहेकी साथी आत्मत्या गर्छु भन्न थालिन, पछि घरपरिवारले सम्झाएपछि फेसबुक एकाउन्ट बन्द गरिन ।

यी साथी मात्रै होइन पछिल्लो समयमा छिटो विश्वास गरेका कारण धेरै युवतीको ज्यान गएको छ । बाँचेकाहरु पनि तनावको जिन्दगी डरैडरमा बाँचेका छन् । सामाजिक रुपमा विकृतीको रुप निम्तिएको त छ नै पवित्र प्रेमको अपब्याख्या भइरहेको छ ।
प्रविधिको बढ्दो दुरुपयोगका कारण विशेषगरी युवाहरु प्रेमको नाममा आपराधिक घटनामा सरिक भइरहेका छन् । हतारको विश्वासले दीर्घकालमा वित्यास पार्न पनि सक्छ भन्ने कुरा अहिलेको पुस्ताले खुटउन सकेको छैन । यही विश्वासमा पर्दा केही समयअघि बुटवलमा २७ वर्षिया तुलसा सापकोटाको आफ्नै प्रेमीले एसिड खन्याएर हत्या गरे । विदेशमा रहँदा तीनवर्षसम्म मिलेको विश्वासिलो उक्त जोडी अन्तत अविश्वासका कारण बुटवलमा गएर टुंगियो ।

आफ्नै श्रीमानले श्रीमतीको हत्या, आफ्नै प्रेमीले प्रेमिकाको हत्या गर्ने घटनाहरु सञ्चारमाध्यममा आईरहँदा सामान्य जस्तै लाग्न थालिसक्यो । मानवियता भन्ने कुरा विस्तारै लोप हुदै गइरहेको छ । प्रविधिको विकासले विनास नै निम्त्याउँदा समेत हामी चनाखो बन्न सकेनौ भने भोलिको हालत कस्तो बन्ला ? राधिकाको जस्तो हालत कुनै पनि युवतीले भोग्न नपरोस भन्नेतर्फ बेलैमा चनाखो बनौँ । भोलिका दिनमा कुनैपनि छोरी, दिदीबहिनीहरु कसैको माया जालमा फसेर विश्वासको बहानामा अकालमा ज्यान खेर नजाओस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org