ताजा समाचार

सहिद सप्ताह शुरू

काठमाडौं, १० माघ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदानी गरेका सहिदको सम्झनामा सोमबारदेखि सहिद सप्ताह सुरु भएको छ। विक्रम संवत १९९७ माघ १० गते अर्थात् आजकै दिन सहिद शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि गरेको आन्दोलनको क्रममा टेकुस्थित पचलीमा जीवनको बलिदानी दिएका थिए।
उनलाई तत्कालिन जहानियाँ राणा शासकले रुखमा झुण्डाएर मृत्युदण्ड दिएका थिए। यस्तै माघ १३ गते काठमाडौंको सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर तथा गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। सहिदहरुको सोही बलिदानीको स्मरणमा हरेक वर्ष माघ १० गतेदेखि सहिद सप्ताह मनाएर माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।
यसैबीच सहिद सप्ताहको अवसरमा काठमाडौं महानगरपालिकाले टेकुस्थित पचलीमा कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले विगतमा सहिदहरुले गरेको त्याग र बलिादन अनुसार मुलुकको राजनीति अघि बढ्न नसकेको बताए।
उनले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिने सहिदहरुको त्यागमा आम नेपालीको स्वतन्त्रता साटिए पनि दलहरुले त्यसको सम्मान गर्न नसकेको टिप्पणी गरे। प्रमुख कार्यकारी अधिकृत तामाङले मुलकमा बढ्दो राजनीतिक संक्रमणकालले सहिदहरुको सम्मान हुन नसक्ने स्पष्ट पारे।

कार्यकारी प्रमुख तामाङले पछिल्लो समय राजनीतिक परिवर्तनका नाममा सहिदहरु थपिने क्रम जारी रहेपनि वास्तविक रुपमा मुलुकलाई योगदान नगरेकाहरु पनि सूचीकृत भएको बताए। उनले मुलुकलाई योगदान गरेको भन्दा पनि राजनीतिक आस्थाका आधारमा विभिन्न घटनामा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने प्रचलन गलत भएको टिप्पणी गरे।
कार्यकारी प्रमुख तामाङले लामो समयदेखि जनप्रतिनिधि बिहिन भएका स्थानिय निकायमा जनताको सेवा प्रभावकारी नभएको बताए। कार्यक्रममा उपस्थित सर्वसाधारणले सहिद शुक्रराज शास्त्रीको तस्विरमा माल्यार्पण गरेर सम्मान व्यक्त गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org