ताजा समाचार

स्थानीय तह निर्वाचनः भीआइपीको मतदान

काठमाडौं, ३१ बैशाख । आइतबार भईरहेको स्थानीय तहको निर्वाचनमा विभिन्न भीआइपीहरुले समेत मतदान गरेका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ७ बजे चितवनको लंकु मतदान केन्द्रबाट मतदान गरेका छन् । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्दा प्रधानमन्त्री प्रचण्ड निकै हषिर्त मुद्रामा देखिन्थे ।

प्रचण्डले जस्तै विभिन्न दलका शीर्ष नेताहरुले विभिन्न जिल्लाबाट मतदानमा सहभागिता जनाएका छन् । केही नेताहरुले भोट खसालिसकेका छन् भने कोही नेताहरु मतदानको तयारीमा छन् ।

wkBMWvnk

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् । पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि र महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्र्रबाट मतदान गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दैछन् । पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदैछन् ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्दै छन् । माओवादी केन्द्रका नेता देव गुरुङले मनाङको नानसोन गाउँपालिका ४ ओडारगाउँस्थित सरस्वती स्कुलबाट मतदान गरेका छन् । सो केन्द्रमा सबैभन्दा पहिले गुरुङले मतदान गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले विहान साढे ११ बजे बालकोट मतदान केन्द्रमा मतदान गर्दैछन् । यस्तै एमाले सचिव योगेश भटट्राईले बागबजारबाट मतदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org