ताजा समाचार

‘स्वर्णिम समय’ विमोचन कार्यक्रममा जे देखियो

‘स्वर्णिम समय’ को व्यापक प्रचार–प्रसार भइरहेकै थियो । यसको मुख्य माध्यम बन्यो सामाजिक संजाल फेसबुक, टुइटर र इन्स्टाग्राम । उदेश्य थियो जसले जति सक्छ त्यति नै प्रचार–प्रसार गर्ने । पुस्तकको बारेमा हामी बेला–बेलामा छलफल गरिरहन्थ्यौं । पुस्तक कसरी, कोद्वारा, कहाँ विमोचन गर्ने भनेर छलफल हुन्थ्यो । पुस्तक ‘स्वर्णिम समय’ विमोचन हुने अघिल्लो दिन बेलुका मलाई पत्रकार दामोदर न्यौपानेले फोन गरे । सबैलाई एकपटक गर्ने क्रममा मलाई पनि गरेका रहेछन् । म खुसी भएँ । फोनमा पनि पुस्तकबारे धेरै कुराकानी भयो । कार्यक्रम तयारीको कुरो भयो । उनले सुनाउँदै गए । म सुनिरहेँ । त्यसपछि कुरै कुरामा विषयान्तर भैयो । राजनीतका कुरा भए । कुरा गर्न थालेपछि हामीबीच अन्त्य हुन गाह्रो हुन्छ । लगभग १० मिनेट कुरा गरेर हामी छुट्टियौँ ।
न्यौपाने पेसाले पत्रकार हुन् । १५ वर्ष भयो उनले कान्तिपुर दैनिकमा काम गरेको । अहिले पनि गर्छन् । समाजशास्त्रमा स्नातकोत्तर न्यौपाने कामकै शिलशिलामा पत्रकारितामा होमिए । बेलाबखत मलाई सुनाउँँछन् उनी । माओवादी जनयुद्धको बेला लम्जुङ र गोरखा जिल्लामा रहेर उनले पत्रकारिता गरे । पत्रकारिता के हो राम्रोसँग बुझे । धेरै हन्डर खाए । त्यहि अनुभव सँगालेर उनले पहिलो पुस्तक लेखे ‘एम्बुसमा ६ वर्ष’ । यस पुस्तकमा उनले भोगेको, देखेका कुरा समेटिएका छन् । तत्कालिन युद्धरत पक्ष नेकपा माओवादी र सरकारबीचका कुरा समेटिएका छन् । माओवादी र सेनाले दिएका दुःख समेटिएका छन् । समाचारको मूल्य र प्रभाव कस्तो हुन्छ पुस्तकमा लेखिएको छ । त्यो पुस्तकलाई उनको द्वन्द्वको डायरी हो भन्दा फरक पर्दैन् । ‘एम्बुसमा ६ वर्ष’ पुस्तकको व्यापक चर्चापरिचर्चा भयो । पत्रकारहरू माझ लोकप्रिय बन्यो । पत्रकारिता अध्ययनरत विद्यार्थीले रुचाए ।
माओवादी शान्ति प्रक्रियामा आयो । त्यसपछि पत्रकार न्यौपानेको पनि पत्रकारिताको ‘बिट’ परिवर्तन भयो । कान्तिपुर दैनिकमा कान्तिपुरकै सह–प्रकाशन साप्ताहिक बाल कोसेली कोपिलामा नियुक्त भए । कोपिला बालबालिकको पत्रिका हो । त्यसमा बालबालिकका कुरा समेटिन्छ । ठूला मान्छेले देखेको आफ्नै सपना, आफ्नो संसार भए जस्तै सानाको पनि आफ्नै सपना हुन्छ । संसार हुन्छ । ठूलाका बारेमा सबैले बोल्छन् । लेख्छन् । कुरा सुन्छन् । तर सानाको कुरा विरलै सुनिन्छ । लेखिन्छ । पढिन्छ । कोपिलामा न्यौपाने नियुक्त भएपछि सानाभन्दा साना बिषयवस्तु उठाउने उनको विशेषता नै बन्यो । द्वन्द्व पत्रकारिता छाप दिमागबाट हटिसकेको थिएन् । बालबालिकाको बिषयमा काम गर्न सुरुमा गाह्रो भयो उनले सुनाए,‘काम गर्दै जाँदा बालबालिकाको बिषयमा थुप्रै रिपोर्टिङ गरेँ । दुर्गममा गाउँ–गाउँमा पुगेर बालबालिकालो आवाज लेखेर सबैतिर पु¥याएँ ।’ त्यसपछि उनलाई बालबालिकाको दुःख, अभाव, छट्पटीले छोयो । यस्तै–यस्ता बिषय समेटेर बालबालिका सम्बन्धी उनले पुस्तक नै लेखे ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ । पुस्तककमा बालबालिकाका समस्या र समाधानका उपाय समेत लेखिएको छ । घर, परिवार र समाजले बालबालिकालाई गर्ने ब्यबहार उल्लेख गरिएको छ ।
कर्मः सिकाइमा गहिरिएको खाडलपछि न्यौपानेले पुनः बालबालिकाकै बिषयमा आधारित रहेर चित्र कथा लेखे । पुस्तक सानो छ । पुस्तकको नाम ‘ट्यालेन्ट शो’ हो । यो सानासाना बालबालिकाहरूलाई पकाउन–फुल्याउन सहयोग पुग्छ । चित्र धेरै छन् । चित्रै हेरेर पनि बच्चा भुलिन्छन् । तर यसले दिन खोजेको सन्देश भने गहिरो छ । एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल र ट्यालेन्ट शो पछि न्यौपानेले ‘स्वर्णिम समय’ लेखेका हुन् । न्यौपानेले अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युटबाट प्रदान गरिने साहसी संवाददाता पुरस्कार पाएका छन् । पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार पनि पाएका छन् । सामुदायिक वन राष्ट्रिय दिवस मूल समारोह समितिबाट सम्मानित हुनुका साथै दर्जनौँ सम्मान तथा पुरस्कार पाएका छन् । सिन्धुपाल्चोक ठोकर्पाका हुन् उनी । हाल परिवारका साथ भक्तपुरमा वस्छन् ।

सबैलाई २ः३० मा बोलाइएको थियो । लेखकले मलाई भने २ः४५ मा कार्यक्रम हुन्छ भनेका थिए । कार्यक्रम तोकिए समयमा भएन । आगन्तुकहरू यता-उता गर्दै थिए । राप्रपाका नेता सुनिल थापा आएका थिए । कार्यक्रम ढिला हुने खबर पाएर उनी फर्के । शिल्पीमा नाटक मंचन हुँदै रहेछ । त्यही भएर ढिला भयो । कार्यक्रम ३ः१५ मा सुरु भयो । मैले घडी हेर्न छोडेको थिइँन । कार्यक्रम करिव एक घण्टापछि सुरु भयो । नभिनचन्द्र घिमिरेले कार्यक्रम संचालन गरे । मान्छे खचाखच थिए । मान्छे धेरै भएकाले हलभित्र हल्ला पनि त्यत्तिकै थियो । कार्यक्रम सञ्चालकले हल्ला नियन्त्रण गर्न सक्थे तर त्यतातिर ध्यान दिएनन् । अझ कतिपय फुर्सद नभएर आएनन् । मुलतः कार्यक्रममा प्रमुख, विशेष भनेर अथिति राखिने चलन छ । तर ‘स्वर्णिम समय’ विमोचन कार्यक्रममा केहि पनि गरिएन । पुस्तकमा समावेश गरिएका र कार्यक्रममा उपस्थित भएकाहरूलाई मंचमा बोलाईयो । प्रकाशकको नाताले ईटर्नल पब्लिकेसन्स प्रा.लि. की प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारीले सबैलाई खादा लगाएर सम्मान व्यक्त गरिन । अनि स्वागत भाषण गरिन ।
पुस्तकमा समावेश गरिएका सबैले आफ्नो मन्तव्य राखेनन् । कोही ब्रह्मलीन भइसकेका छन् । कोही आउँदै आएनन् । अनि के मन्तव्य राख्नु ? वरिष्ठ पत्रकार हरिहर विरही, साहित्यकार माया ठकुरी, वरिष्ठ समालोचक प्रा.कृष्णप्रसाद गौतम, अन्जु भट्टराई, नयनबहादुर स्वाँर र लेखक दामोदर न्यौपानेले पुस्तकको विमोचन गरे ।
पुस्तकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेत्री पम्फा भुसालदेखि ठाडो भाकाका शिरोमणि गायक भेडीखर्के साइँला, अक्सिजन कविका रूपमा परिचित बालकृष्ण अधिकारी, माया ठकुरी, कवि श्रवण मुकारूङ, संगीतकार सुरेश अधिकारी लगायत विविध विधाका चार दर्जन बढि व्यक्तित्वको बाल्यकाल अनुभूतिहरू समावेश छन् । पुस्तकको विमोचन पछि बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य समेत रहेकी ठकुरीले अन्तवार्ता दिने क्रममा आफ्नै बाल्यकाल सम्झेर भक्कानिएको बताइन । बच्चाबेलामा मैले अरूको घरमा काम गरेको छु । अरूले खाएर छोडेको खानाले पेट भरेका कुराहरू पुस्तकमा रहेको साहित्यकार ठकुरीले बताइन् ।

विद्यालयमा औपचारिक शिक्षा लिन नपाएको मान्छेले लेखेका पुस्तकहरू अहिले त्रिभुवन विश्वविद्यालय, नर्थ वंगाल विश्वविद्यालय तथा गुवाहटी विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा अध्यापन गराइन्छन् । उनले भनिन्, ‘तर मैले परिश्रम गर्न छोडिनँ । त्यसैले मलाई यहाँसम्म ल्याइर्पुयाएको हो । बाल्यकालमा दुख पाएपनि निरन्तरको प्रयासले सुख अवस्य दिन्छ ।’ न्यौपानेले केन्द्रका भन्दा परिधिका पात्रहरूलाई पुस्तक मा समावेश गरेको वरिष्ठ समालोचक गौतमले वताए । ‘पुस्तकमा भौगोलिक, जातिगत, क्षेत्रगत, लैङ्गीक विविधता पाइन्छ,’ उनले भने ।
वरिष्ठ पत्रकार विरहीले पुस्तकमा पात्रहरूको सकारात्मक कुराहरूसँगै नकारात्मक कुराहरू पनि समेटिएको बताए । जे कुरा समाजलाई आवश्यक परेको छ त्यही नै दिने हो । विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरू बाल्यकाल पुस्तकमा समेटिएको विरहीले बताए । राजनीतिज्ञ, साहित्यकार , पत्रकार, कलाकार, प्रशासकको बाल्यकाल पुस्तककमा पढ्न पाइन्छ उनले भने । यस्ता व्यक्तित्वहरूले देशलाई सहि बाटोमा किन लैजान सकेनन् भनेर पाठकमा प्रश्न उठ्न सक्छ । यो पुस्तक राम्रोसँग पढ्ने हो भने निराशालाई चिर्दै स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । प्रकाशकले व्यापारलाईभन्दा पनि उपयोगी पुस्तक प्रकाशन गर्नुपर्नेमा विरहीले जोड दिए ।
त्यपछि कार्यक्रम सञ्चालक नभिनचन्द्रले लेखक न्यौपालेलाई बोल्न आग्रह गरेर आफू विदा भए । न्यौपानेले केही कुरा राखे ।
कान्तिपुर दैनिकको साप्ताहिक बाल कोसेली ‘कोपिला’ संयोजन गर्ने क्रममा विभिन्न व्यक्तित्वको बाल्यकाल खोतल्न पुगेका न्यौपानेले त्यसैबेला पुस्तक लेख्ने योजना बनाइसकेको जानकारी गराए । उनले भने, ‘बाल्यकालका कुरा गर्दा मैले मान्छेका अनुभूतीहरू मात्रै सुनिनँ, तीनले त्यतिबेला सामना गरेका समाजको चित्र पनि उतार्ने प्रयास गरेँ । यसले पहिलेको समाज, भूगोल, आर्थिक लगायत अवस्था बुझ्न सहयोग पुग्नेछ । यी पात्रले गरेका संघर्ष प्रेरणादायी हुनेछन् ।’ न्यौपानेले आफूले भुइँ मान्छेको कुरा लेखेको बताए । उनले भने, ‘ मैले ठूला मान्छेको कुरा लेखे पनि भुइँ मान्छेकै कुरा लेखेको हो ।’

पुस्तकभित्र समावेश भएका पात्रहरूले तत्कालिन अवस्थामा देखेका समाज हाम्रो लागि विश्वविद्यालय भएको लेखक न्यौ पानेले वताए । पुस्तकमा समावेश गरिएका पात्रहरू छान्न निकै मेहनत परेको सुनाउँदै भने, ‘एउटा मान्छे छान्न पनि मैले मेहनत गरेँ । ऊ कस्तो मान्छे हो भनेर जानकारहरूसँग सोधेँ । आफूलाई राम्रो लाग्यो भन्दैमा अरूलाई पनि राम्रो लाग्न सक्दैन ।’
लेखक न्यौपानेले बोलिसकेपछि कार्यक्रम अन्य भयो । सबै हलबाट बाहिर गए । बाहिर किताव विक्रिमा राखिएको थियो । मूल्य ४२५ रूपैयाँ राखिएको भए पनि विमोचनको दिन भनेर रु ३०० सयमा बेचिएको थियो । पत्रकारहरूले सित्तैमा लगे । खाजाको व्यवस्था थियो चिया र विस्कुट । मान्छेहरू खाजा खाँदै किताब किन्नमा व्यस्त थिए । किताब किनेर लेखकसँग हस्ताक्षर गरिदिन आग्रह गर्दे थिए । अनि कोही फोटो खिचाउनमा व्यस्त थिए । माहोल अर्कै बन्यो विमोचनको दिन । सबैसँग लेखकको राम्रो सम्बन्ध भएका कारण मान्छेहरू ओइरिएका थिए ।  ‘चार वटा किताव लेखिसकेका लेखक न्यौपानेमा कत्ति पनि घमण्ड छैन् । उहाँ जोसँग पनि उत्तीकै हार्दिकताका साथ बोल्नुहुन्छ । सम्मान गर्नुहुन्छ । उहाँको यस किसिमको स्वभाव देखेर नै म सिन्धुपाल्चोकदेखि यहाँ आएकी हुँ । उता पनि कार्यक्रम थियो ।’ सिन्धुपाल्चोककी बाल अभियन्ता सफलता भण्डारीले भनिन् ।
उक्त पुस्तकमा आ–आफ्नो कार्यक्षेत्रमा सफल र असल ५३ जना व्यक्तित्वहरूको बालपन समेटिएको छ । पाठकका लागि एक फरक र प्रेरणादायी पुस्तक ‘स्वर्णिम समय’ बन्न सक्छ । बाल्यवस्था केही नजान्ने अबोध हुन्छ । छलकपट हुँदैन । जे देख्छन् त्यही बुझ्छन् । जे सिकाउँछन् त्यही बोल्छन् । वातावरणले उनीहरूको दिमागमा छाप पर्दछ र त्यो पछिसम्म रहन्छ । घटनाहरूले तुरून्त छाप पार्दछन् । बाल्य अवस्थालाई सुनौलो समय पनि भनिन्छ । यस समयमा छलकपट केही पनि हुँदैन । उनीहरू राम्रो–नराम्रो कुरा जे देख्छन् त्यही सिक्छन्, टिप्छन् । त्यसैले बाल्यवस्थाको केटाकेटीलाई राम्रो वातावरणको पहुँच हुनुपर्छ । नराम्रो वातावरणमा भए उनीहरूको मनोवृत्ति पनि नकारात्मकतातिर जान्छ । उमेर ढल्कदै गएपछि बाल्यवस्थाको सम्झना बढी आउँछ । किनभने उनीहरूमा राम्रो–नराम्रोको अनुभव हुन्छ । जस्तै : घर परिवारमा कसैले पिटेको छ भने त्यसको छाप पछिसम्म परिरहन्छ । विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूको यस्तै-यस्तै घटनाहरूलाई सरल, सहज र सरस भाषाशैलीका साथ शब्दमा उनेर न्यौपानेले तयार पारेको ‘स्वर्णिम समय’ पाठकका लागि आफ्नो बाल्यकालको स्मृति, प्रेरणा र परिवारले सन्तानलाई कस्तो संस्कार र शिक्षा दिने भन्नेमा मार्गदर्शक बन्न सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org