ताजा समाचार

रुखमा फलेको बोधिचित्तको फलमा विवाद, प्रहरीले नियन्त्रणमा लियो

बनेपा, ८ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि प्रहरीले हस्तक्षेप गरी त्यसलाई नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । यसलाई आज बैठक बसेर छलफलपछि टुङ्गो लगाइने उहाँले बताउनुभयो ।

जिल्लाको रोशी गाउँपालिकास्थित नागबेलीमा एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रूख तीन व्यापारीसँग फरक फरक मूल्यमा बेचेपछि फल कस्को हो भन्ने विषयमा विवाद भएको हो । बोधिचित्तको रूख धनी ठकुरानी तामाङले आफ्नो बारीको बोधिचित्तको फल सत्यमान लामा, सुनिल लामा र दवाङजु लामालाई बेचेपछि विवाद भएको बताइएको छ ।

जिल्लाको रोशी गाउँपालिकामा पर्ने यो रूख सबैभन्दा महँगो रूख मानिएको छ । सत्यमान लामाले विगत वर्षदेखि नै आफूले किनेकाले आफूले पाउने दाबी गरेका छन् भने सुनिल लामाले आफूले कागज गरी रु ३४ लाख बुझाएको जिकिर गरेका छन् । बोधिचित्तको मालाको विषयमा विवाद भएपछि प्रहरी नै परिचालन भएको थियो ।

गत वर्ष रु ८० लाखमा दवाङजु लामाले सत्यमान लामालाई बिक्री गरेको पैसा अहिलेसम्म पनि नपाएको गुनासो गर्दै उहाँले प्रहरीमा शान्तिसुरक्षाका लागि अनुरोध गर्नुभएको थियो । दवाङजुले २०७२ साल असार १४ गते करारनामाअनुसार २०७४ साल भदौ मसान्तसम्म बोधिचित्तको फल टिप्न पाउने उल्लेख छ । नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामा समूहले रु ५५ लाख ठकुरानी तामाङले लिइसकेको दाबी गर्दै बोधिचित्तको फल आफ्नो हुनुपर्ने जिकिर गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org