ताजा समाचार

नारायणगढ–मुग्लिन सडकमा जताततै पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

असार, ११ चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए । ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।

राति पानी पर्ने क्रम र पहिरो खस्ने क्रम चलेकाले पहिरो हटाउन नसकिएको हो । पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन छ ।

गएको शुक्रबार मात्रै यहाँको कालीखोला नजिकै पहिरो खसेर १७ घन्टा पछि बाटो खुलेको थियो । सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org