ताजा समाचार

आज पहिलो साउने सोमबार, पशुपतिसहित देशभरका शिव मन्दिरमा पूजा गर्नेहरुको घुईचो

काठमाडौं, २ साउन । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी साउन महिनाको पहिलो सोमबार मनाउँदैछन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

साउने सोमबार पुजाआजा गर्न देशभरका शिवालयहरुमा महिलाहरुको घुइचो रहेको छ । काठमाण्डौको पशुपति, चितवनको देबघाट लगायतका देशभरका विभिन्न शिवालयमा ब्रतालु महिलाहरुको घुइचो रहेको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन पशुपति क्षेत्र विकास कोषले विशेष योजना बनाएको छ ।

पशुपतिमा पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणपूर्ति–रुद्रगाडेश्वर–वासुकी मन्दिर हुँदै उत्तरढोकाबाट छिरेर दर्शन गर्ने गरी मार्ग कायम गरिएको छ । यो मार्गबाट छिर्नेले कैलाश डाँडामुनि जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शन गरिसकेपछि भक्तजन छिरेकै मार्गबाट बाहिर निस्कनुपर्नेछ ।

दोस्रो लाम गौशाला–भुवनेश्वरी–शंकराचार्य मठ–पश्चिम सानो ढोकाबाट पसेर दर्शन गरी सोही मार्गबाट बाहिर निस्कनुपर्नेछ । यो मार्गबाट छिर्नेका लागि पश्चिम मूलढोकामा जुत्ता चप्पल फुकाल्ने प्रबन्ध गरिएको छ । तेस्रो लाम गौशाला, वनकाली वा पिंगलास्थान चक्रपथचोकबाट चार शिवालय हुँदै पञ्चदेवल पूर्व भएर दक्षिण ढोकाबाट प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यो मार्गबाट छिर्नेका लागि दक्षिण मूलढोका बाहिर जुत्ता चप्पल राख्ने गरी व्यवस्था गरिएको छ ।

साउनको सोमबार बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउन चाहनेका लागि भुवनेश्वरीबाट प्रवेश गरी लाम नबसीकन मन्दिर छिर्न दिइएको छ । विशेष पूजा गर्नेका लागि आर्यघाटबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गरेर पूजा गरी सोही मार्गबाट फर्कने व्यवस्था गरिएको छ । साउनभर स्वास्थ्य शिविर, चिया र प्रसाद वितरणका लागि मुख्य क्षेत्रबाट बाहिरैको भागमा व्यवस्था गरिएको छ । साउनको सोमबार डेढ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org