ताजा समाचार

आइसीसी यू-१९ विश्वकपको एसियाली छनौटः नेपालद्धारा मलेसिया ५ विकेटले पराजित

काठमाडौं, ९ साउन । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली टोलीले अर्को जित दर्ता गराएको छ । सिंगापुरमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै अर्को जित दर्ता गराएको हो । मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए ।

ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । त्यसपछि आएका अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन् । ११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेलले धानेका थिए । यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए । उनका अलावा शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

न्युजिल्याण्डमा हुने आइसीसी यू १९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् । अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ । नेपालले छैटौं तथा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org