ताजा समाचार

अमेरिकाले रसिया समर्थित विद्रोहीबिरुद्ध लड्न युक्रेनमा हतियार पठाउने

काठमाडौं, १० साउन । अमेरिकाले युक्रेनमा रसिया समर्थित विद्रोहीबिरुद्ध लड्न हतियार दिने भएको छ । अमेरिकाका विशेष दूतले रसिया समर्थित विद्रोहीहरुविरुद्ध लड्न युक्रेनमा हतियार पठाउनेबारे वासिङटनले विचारविमर्श गरिरहेको बताएका छन् ।

बिबिसीसँग कुरा गर्दै कर्ट भोल्करले युक्रेनको सरकारलाई हतियार सहयोग गरे मोस्कोको रणनीति परिवर्तन हुने बताए । उनले यो कदम ‘उत्तेजक’ नहुने पनि तर्क गरे । गत हप्तामात्र अमेरिकी स्टेट डिपार्टमेन्टले दुवै पक्षलाई पूर्वी युक्रेनमा युद्धविरामका लागि आग्रह गरेको थियो ।

‘रक्षात्मक हतियार, जसले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नेछ, पठाउनेबारेमा छलफल भइरहेको छ । यसले युक्रेनलाई धम्काइरहेको रसियालाई रोक्न मद्दत गर्नेछ,’ विविसीसँगको अन्तर्वार्तामा भोल्करले भने । उनले पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि रसियासँग नयाँ रणनीतिक संवाद आवश्यक रहेको पनि बताए ।

भोल्कर यसअघि नेटोका लागि अमेरिकाका प्रतिनिधि थिए । गत महिनामात्र उनलाई यो नयाँ भूमिका प्रदान गरिएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ को अप्रिलमा शुरु भएको द्वन्द्वका कारण हालसम्म १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने १६ लाखभन्दा बढी विस्थापित बनेका छन् । सन् २०१५ को फेब्रुअरीमा युद्धविरामको सम्झौता भएपनि त्यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org