ताजा समाचार

कांग्रेसले गुटबन्दी व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार आज


काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार आज गर्ने भएका छन् । कांग्रेसले पार्टीका गुट/उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार आज हुन लागेको हो । सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो । यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ ।

राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको हो ।

आज मध्याह्नसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए । बुधबार कांग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा (संयुक्त) लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने जोशीले बताए ।

कांग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुने चर्चा छ । यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ । फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ ।

नेकपा (संयुक्त) ले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org