ताजा समाचार

म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गर्दै युएफा सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं, २५ साउन । रियल मड्रिडले युएफा सुपर कपको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल्ने नखेल्ने चर्चाकाबिच उनी ७ मिनेटका लागि मैदान प्रवेश गरेका थिए ।

रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए । रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको खबर पनि आइरहेका थिए ।

युनाइटेडविरुद्धको खेलको ८३ औँ मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डो इन्जुरी समयबाहेक ७ मिनेट मात्र मैदानमा रहे । मैदान बाहिर रहेका बेला पनि उनी मौका मिल्नासाथ खेलाडीसँग कुरा गरिरहेका देखिन्थे । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन । खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org