ताजा समाचार

यसकारण योग्य छन्, पत्रकार महासंघको महासचिवमा बालकृष्ण बस्नेत

दोलखा, ४ भदौं । प्रतिभाशाली युवा पत्रकार बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघको २५ औँ अधिवेशनमा महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् । दोलखा जिल्ला भीमेश्वर नगरपालिका ५, विसुन्टोलमा जन्मेका बस्नेतले राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर र कानूनमा स्नातक गरी हाल एक बौद्धिक पत्रकारका रुपमा परिचित छन् ।

वि.सं. २०५३ सालमा दोलखा टुडे मासिकको सम्पादक, प्रकाशक बनेर पत्रकारिताको सुरुवात गरेका बस्नेत छलफल साप्ताहिक देखि कान्तिपुर दैनिकको सम्वाददाता हुँदै, जिल्ला ब्यूरो प्रमुख र हाल वरिष्ठ उपसम्पादकको रुपमा कार्यरत छन् । ई कान्तिपुरको समाचार प्रमुखको रुपमा लामो समय काम गरेका बस्नेत अनुसन्धानमूलक समाचार, कानून र राजनीति बिटमा विशेष दखल राख्ने पत्रकारका रुपमा परिचित छवी बनाएका छन् ।

नेपाल प्रेस ईन्स्टिच्यूटबाट १२ महिने पत्रकारिता तालिममा सर्वोत्कृष्ट बनेका उनी कानून र सुशासन बिषयका प्रशिक्षक पनि हुन यसका अलावा अन्य विभिन्न बिषयमा दर्जनौ तालिम लिएका छन् । अमेरिकाको हार्डवर्ड विश्वविद्यालयमा एकहप्ते अनुसन्धानात्मक तालिम लिएका बस्नेत भारत, चीन, जापान, बंगालादेश, पाकिस्तान लगायतका मुलुकहरुको भ्रमण पनि गरी पत्रकारिता क्षेत्रमा प्रशस्त ज्ञान बटुलेका छन् ।

वि.सं. २०५४/५५ सालमा नेपाल पत्रकार महासंघ दोलखा, रामेछाप शाखाको सदस्य बनेका बस्नेत २०५६ सालदेखि लगातार केन्द्रीय पार्षद हुन् । शिव गाउँले अध्यक्ष हुँदा केन्द्रीय सदस्य जितेका उनले आफ्नो कार्यकालमा प्रभावकारी ढंगले काम गरी चर्चा कमाएका थिए ।

पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न र श्रमजीवि पत्रकारका मुद्धालाई कार्यान्वयन गरी ब्यवसायिक पत्रकारितालाई संस्थागत गराउन आफ्नो उमेदवारी रहेको बताउने बस्नेत आफूपनि पत्रकारितामा दक्ष, निर्विवादित छवी, ब्यक्तिगत र संस्थागत सम्बन्ध प्रगाढ राख्न सक्ने खुबी, पत्रकारितामा २० बर्ष देखिको निरन्तरता, पत्रकार महासंघमा विगत देखिकै राम्रो योगदान र अप्ठ्यारोमा परेका पत्रकारलाई सधैँ सहयोग गर्ने ब्यवहार जस्ता कुराले केन्द्रीय पार्षदहरुको मन जितेर निर्वाचनमा विजयी हुने दावी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org