ताजा समाचार

चीन आखिर किन तातोपानी नाका सधैंका लागि बन्द गर्ने प्रस्ताव गर्दै ?

काठमाडौं, ५ असोज । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला (ताप्लेजुङ), खासा–रसुवागढी (रसुवा) र खासा–यारी (हुम्ला) नाका प्रयोग गर्दै आएको थियो । यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन् ।

अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा (तातोपानी) नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो ।

चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ । उच्चस्तरीय (राष्ट्रपति–प्रधानमन्त्री) तहको भेटमा खासा नाका खोल्न चीन सकारात्मक रहेको जानकारी दिने गरिएको भए पनि सम्झौता गर्ने कर्मचारी तहमा आउँदा सहयोग नपाइएको नेपाली उच्चस्तरीय वार्ता टोलीको भनाइ छ । नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकल सम्झौता भएको छ । त्यसमध्येको एउटा सडक नाका खासा–ओलाङचुङगोला हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org