ताजा समाचार

नेपाल हङकङसँग ८३ रनले पराजित, डिभिजन टू मा घटुवा हुने खतरा

काठमाडौं, २७ असोज । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालमा हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ५ वल बलिङ गरेका उनले १७ रन दिएका थिए । त्यस्तै ऐजाज खानले ३, तनवीर अफजल र के क्रिस्टीले १र१ विकेट लिए । यस अघि हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए ।

त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए । बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट र सुशन भारीले एक विकेट लिए ।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । त्यसमात्र होइन यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा खस्किने खतरा पनि कायमै छ ।

विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org