ताजा समाचार

एनसेल र नेपाल टेलिकमले विभिन्न शीर्षकमा ७ अर्ब ७६ करोड राजश्व तिरे

काठमाडौं, १ कात्तिक । दुई ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई ७ अर्ब ७६ करोड राजश्व बुझाएका छन् । दुई दूरसञ्चार प्रदायक कम्पनीहरुले विभिन्न राजश्व शीर्षक अन्र्तगत ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजस्व बुझाएका हुन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम कम्पनीहरूले सरकारलाई बुझाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार, दूरसञ्चार सेवा प्रदायकहरूले आफ्नो वाषिर्क आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोषमा योगदानका रुपमा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र बुझाउनु पर्छ । त्यस्तै आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रिम रूपमा फ्रिक्वेन्सी दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सेवा प्रदायक कम्पनीहरूले अनुमानित आम्दानीका आधारमा राजस्व जम्मा गरेका हुन् ।

एनसेलले ४ प्रतिशत रोयल्टीबापत मात्रै २ अर्ब २६ करोड ७८ लाख रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरेको छ । त्यस्तै, ग्रामीण दूरसञ्चार विकास कोषमा योगदान बापत १ अर्ब १३ करोड ३९ लाख रुपैयाँ र अग्रिम फ्रिक्वेन्सी शुल्कबापत १ अर्ब २ करोड गरी एनसेलले कुल ४ अर्ब ४२ करोड १७ लाख रुपैयाँ सरकारलाई बुझाएको हो ।

त्यस्तै सरकारी दूरसञ्चार कम्पनी टेलिकमले भने ४ प्रतिशत रोयल्टीबापत १ अर्ब ५६ करोड रुपैयाँ, ग्रामीण दूरसञ्चार विकास कोषमा ७८ करोड रुपैयाँ र अग्रिम फ्रिक्वेन्सी दस्तुरबापत ९९ करोड ८४ लाख गरी कुल ३ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ बुझाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org