ताजा समाचार

हेर्नुहोस् त ! न्युरोडमा फूलको झिलीमिली, एक झुप्पोको मालाको ७ देखि २५ सय सम्म

काठमाडौं, २ कात्तिक । तिहारको लागि किनमेल गर्नेहरुका कारण काठमाडौंका बजारमा निकै भिडभाड छ । लक्ष्मीपूजा र भाइटिकाको लागि फूलमाला, नयाँ लुगा अनि मिष्ठान्न किन्नेको कारण काठमाडौंको बजार तिहारमय भएको हो । असन, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला लगायतका बजारमा सामान किन्नेहरु जुटेका देखिन्छन् । फुलैफूलले बजार सुन्दर बनेको छ ।

लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमाला व्यापार सहरबजारमा अरु दिनको तुलनामा धेरै हुने गरेको छ । नेपाल र भारतीय फूल व्यापारीले यतिबेला राम्रै फाइदा लिने गरेका छन् । एक झुप्पोको मालालाई ७ सयदेखि २५ सय रुपैयाँसम्म पर्दछ । सयपत्रीको झुप्पोमा तीनदेखि पाँचवटासम्म माला राखिएको हुन्छ ।

अन्य जिल्ला सदरमुकाम, प्रदेशमा जस्तै काठमाडौं न्यूरोडमा आज फूलमालाको किनबेच धमाधम भइरहेको छ । व्यापारीहरुले मखमलीको फूल पनि बेच्न राखेका छन् । लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।

लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाई एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजासागै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org