ताजा समाचार

कुलमानको प्लानः आज देशभर बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने

काठमाडौं, २ कात्तिक । आज देशभर बिजुली नकाटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपालीहरुको दोस्रो महान पर्व दिपावली सुरु भएपछि प्राधिकरणले देशभर लोडसेडिङ नगर्ने भएको हो । गत वर्षको तिहारमा काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले त्यसको एक वर्षपछि देशैभरको लोडसेडिङ अन्त्य गरेको हो ।

तिहार अन्तर्गत आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा झिलिमिली बत्ती बाल्ने गरिन्छ । विद्युत् प्राधिकरण भने वर्षमै सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले आज कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न विभिन्न काममा व्यस्त रहेको छ ।

मध्यान्ह भक्तपुर सबस्टेशनमा समस्या आएको खबर पाएपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आफैं त्यहाँ पुगेर मर्मतको काम गराएका छन् । आजका लागि प्राधिकरणको एउटै लक्ष्य छ, ‘बिजुली जोडिएका कुनैपनि घरमा बत्ती ननिभाउने ।’

त्यसैअनुसार प्राधिकरणले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अपरान्हसम्म सबै व्यवस्थापकीय काम सकेर प्राधिकरण बेलुकीको प्रतिक्षामा रहनेछ । हालसालै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

कुनै स्थानमा समस्या आउने बित्तिकै आधा घन्टाभित्रै सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको ‘प्रोम्प्ट सप्लाई रेसपोन्स टिम’ (पीएसआरटी) पनि तयारी अवस्थामा छ । यो टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा ३ सय ५० देखि ३ सय ६० मेगावाटसम्म बिजुलीको माग हुने प्राधिकरणको पूर्वानुमान छ । समस्या नआओस् भनेर प्राधिकरणले यस क्षेत्रका सबै सबस्टेसनको मर्मत पनि गरिसकेको छ ।

काठमाडौ केन्द्रका स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ आज पनि मास्टर स्टेशन पुग्नेछन् । विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको पदमा बसेर काम गर्दै आएका कुलमान आज भने साँझमा भारप्रेषण केन्द्रको इन्जिनियरको भूमिका निभाउनेछन् ।

उनीसँगै प्राधिकरणका उच्च अधिकारीहरु पनि भारप्रेषण केन्द्रमा पुग्नेछन् । विद्युत ब्यापार विभागका प्रमुख रहेका प्रवक्ता अधिकारी भारतबाट आयात हुने विद्युतको लागि भारतका ऊर्जासम्बद्ध विभिन्न कार्यालयसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

कुलमान घिसिङ लगायत प्राधिकरणका अधिकारको ध्यान आज जसरी पनि देशभर उज्यालो राख्ने छ । त्यही अनुरुप तयारी गरिरहेका छन् । यदि आजको परीक्षणले काम गर्न सक्यो भने प्राधिकरणले देशभरको लोडसेडिङ आजैदेखि सधैभरको लागि अन्त्य गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org