ताजा समाचार

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

पाल्पा, ४ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ । गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले नेतृत्व गर्ने चाहना गरे पनि ठूला दलले नै उम्मेदवारीका लागि टिकट नदिएको महिलाको गुनासो छ । नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडी परेको उनीहरुको गुनासो छ पुरुषले महिलालाई अगाडि बढ्न नदिने र नेतृत्व आफ्नै हातमा लिने प्रवृत्तिले गर्दा अझैपनि महिलाले अवसर पाउन नसकिरहेको क्षेत्र नं १ पाल्पाकी नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकालले बताउनुभयो । निर्वाचनमा नेतृत्व गर्नका लागि योग्य र सक्षम हुँदाहुदै पनि विभिन्न बहाना बनाएर महिलाको उम्मेदवारीलाई खारेज गरी टिकट लिने गरेका उहाँले आरोप लगाउनुभयो ।

प्रदेशसभा सदस्यका लागि साना दलकातर्फबाट क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका उम्मेदवार उषा परियार र ‘ख’बाट संघीय समाजवादी फोरमकै मनिसरा आले उम्मेदवार हुनुुहन्छ । क्षेत्र नं २ को प्रदेश बाट नेपाल मजदुर किसान पार्टीका कमला विक र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट सावित्री कुमारी राना चुनावी मैदानमा हुनहुन्छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेश सभामध्ये क्षेत्र नं १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ जना र प्रदेशसभा तर्फ ७ र प्रदेश ख तर्फ सातजना, क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १० र प्रदेशसभा तर्फ १२ तथा प्रदेश ख तर्फ ६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

जिल्लामा काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । जिल्लामा एक लाख ८१ हजार २४६ मतदाता रहेका छन् । महिला मतदाता ९४ हजार ८२९ महिला, पुरुष मतदाता ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org