ताजा समाचार

सुर्ती र मदिरामा कर बढाएर गम्भीर प्रकृतिका बिरामीलाई मासिक भत्ता दिईने

काठमाडौं, २९ मंसिर । गम्भीर प्रकृतिका बिरामीले मासिक भत्ता पाउने भएका छन् । यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको छ । सरकारले मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भत्ताको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । मदिरा र सुर्तीजन्य पदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई त्यसबाट उठ्ने रकमबाट गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी गरिएको हो ।

क्यान्सर र मिर्गौलाका बिरामीको उपचार लामो समय गर्नुपर्ने र काम गर्न नसक्ने हुँदा सरकारले मासिक खर्च दिने तयारी गरेको स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “मन्त्रालयले प्रस्ताव तयार गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्छौं । मन्त्रालयले चालू आर्थिक वर्षमा यसका लागि ७८ करोड रुपैयाँ बजेटसमेत छुट्याइसकेको छ ।

क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउने मन्त्रालयका सहसचिव भोलामान श्रेष्ठले जानकारी दिए । उनले भने, “खर्चको व्यवस्थापन चुरोट तथा रक्सी बिक्रीमा थप कर लगाई गर्ने योजना छ, ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org