ताजा समाचार

ओली–प्रचण्ड भेटवार्ताः कांग्रेस जथाभावी नगर्न चेतावनी, एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई नेताबीच नयाँ सरकार गठन देखि पार्टी एकिकरणका विषयमा छलफल भएको छ ।

डेढ घण्टा लामो छलफलमा दुई नेताहरुले कांग्रेसलाई भने राम्रै चेतावनी दिएका छन् । कामचलाउ सरकारले विभिन्न नियुक्ति गरेर सरकार गठनमा कानुनी बखेडा झिकेको त्यस्तै नगर्न उनीहरुले चेतावनी दिएका हुन् । यसका लागि अर्को बैठकमा दुई पार्टी नेताहरु बसेर छलफल गर्ने योजना बनाएका छन् ।

भेटवार्तामा कांग्रेस सरकारले जथाभावी नियुक्ती गर्ने देखि अनावश्यक निर्णयसम्म गरिररहेको भन्दै ‘मुकाविला’ गरेर जाने भन्ने विषयमा छलफल भएको अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । “कामचलाउ सरकारले विभिन्न ठाउँमा नियुक्ति, जथाभावी निर्णय गरेको र सरकार गठनका विषयमा पनि विभिन्न कानुनी बखेडा झिकेको विषयलाई कसरी मुकाविला गर्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा अर्को बैठक बसेर रणनीति तय गर्ने निष्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ,” उनले बैठकबारे जानकारी दिए । त्यस्तै दुवै अध्यक्षले सरकार गठनका विषयमा कानुनी बखेडा नझिक्न र जथाभावी नियुक्ति नगर्न सरकालाईलाई चेतावनीसमेत दिएको उनको भनाइ थियो ।

एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन

निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले एकता विरोधी गतिविधि नगर्न दुवै अध्यक्षले बैठकमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । “दुवै पार्टी वामपन्थी एकताको दिशामा अघि बढिरहेको छ । यस्तो अवस्थामा दुवै पार्टीका कार्यकर्तालाई एकता विरोधी कुरा नगर्न र गतिविधि नगर्न निर्देशन दिन्छौं,” अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई उदृत गर्दै संयोजक अधिकारीले भने । सरकार गठनका विषयमा थप गृहकार्य गरेर अब बस्ने बैठकले त्यसलाई टुंग्याउने भनाई अधिकारीको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org