ताजा समाचार

कथित डन दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, फैसलासंगै सांसद् पद खुस्कियो

काठमाडौं, २ माघ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित मनाङ्गेलाई सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसला सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार मनाङ्गेलाई पाँच वर्ष थुन्ने फैसला गरेको हो । फैसलासँगै मनाङ्गको सांसद पद निलम्बनमा परेको छ । विभिन्न मुद्दाहरू खेप्दै आएका मनाङ्गे केही समय अगाडि एमालेमा प्रवेश गरेका थिए ।

एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ । सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।

यस्तो थियो ज्यान मार्ने मुद्दाः
दीपक मनाङ्गेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो । सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । जिल्ला अदालतले सुनाएको सजाय दिपक मनाङ्गले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org