ताजा समाचार

ओली सरकार उपप्रधानमन्त्रीविहिन हुने, नेता व्यवस्थापन गर्न ओलीको नयाँ जुक्ति

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । ओलीले उक्त प्रस्ताव वाम गठबन्धनसमक्ष राखेका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् । माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको प्रस्ताव छ ।

पहिलो पटक प्रधानमन्त्री बन्दा ६ जना उपप्रधानमन्त्री राखेर आलोचित भएका ओलीले यसपटक यस्तो प्रस्ताव गरेका हुन् । उपप्रधानमन्त्री धेरै बनाउँदा जनतामा राम्रो सन्देश नगएको भन्दै ओलीले त्यस्तो अलोकप्रिय काम नगर्ने चाहना व्यक्त गरेको एक नेताले बताए । माओवादीबाट रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका छन् । एमालेमा महासचिव ईश्वर पोखरेल लगायतले उपप्रधानमन्त्री दाबी गरिरहेका छन् ।

उपप्रधानमन्त्रीको दाबी गरिरहेका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने जुक्तिका रुपमा ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव प्रचण्डसमक्ष राखेका हुन् । ‘ओलीजी कसैलाई पनि उपप्रधानमन्त्री नबनाऔं भन्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो,’ प्रधानमन्त्रीले कसैलाई कार्यभार दिनुपर्दा एकजनालाई दिए भइहाल्छ, उपप्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org