ताजा समाचार

एमालेले आज मन्त्रिको टुंगो लगाउने

११ फागुन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो । एमाले र माओवादीबीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने मन्त्री छान्न बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएको छ । एमाले–माओवादीबीच मन्त्रालय भागबण्डा मिलेपछि ओली सरकार विस्तारको तयारीमा छन् । तर मन्त्रीका आकांक्षी धेरै हुँदा दुवै पार्टीलाई मन्त्री छनोट गर्न हम्मे परिरहेको छ ।

बालुवाटार स्रोतका अनुसार, एमाले–माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् । एमाले अध्यक्ष ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले एमालेबाट २ मन्त्री थपेर शपथ गराए पनि आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org