ताजा समाचार

बर्खायाममा पानीजन्य रोगको जोखिम, पानी उमालेर तथा शुद्धीकरण गरेर प्रयोग गर्न चिकित्सकको सुझाव

काठमाडौं, १० वैशाख । । बर्खा लागेसँगै पानीजन्य रोगको जोखिम बढ्ने गरेको छ । पानीका मुहानमा वर्षाको समय जनावरका मलमूत्र अनि ढल मिसिने भएकाले रोग सर्ने जोखिम उच्च हुन्छ । बर्खायाममा दैनिक प्रयोग गरिने पानी दूषित हुँदा झाडापखाला, बान्ता, भाइरल ज्वरो, आउँ, भाइरल हेपाटाइटिस जस्ता रोग लाग्ने डर हुन्छ दूषित पानीको प्रयोगले विशेषगरी झाडापखाला, भाइरल ज्वरो, आउँ, टाइफाइडको खतरा रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसियन फिजियसन डा. अनुप बास्तोलाले बताउनुभयो ।

डा. बास्तोला भन्नुहुन्छ, ‘धानको खेतमा काम गर्दा संक्रमित मुसाको पिसाब रहेछ भने स्क्रब टाइफस सर्ने पनि हुन्छ ।’ बर्खायाममा दैनिक प्रयोग गरिने पानी दूषित हुँदा झाडापखाला, बान्ता, भाइरल ज्वरो, आउँ, भाइरल हेपाटाइटिस जस्ता रोग लाग्ने डर हुन्छ ।

गर्मी मौसममा यी रोगका ब्याक्टेरिया सक्रिय हुने भएकाले पनि जोखिम हुने डा. बास्तोला बताउनुहुन्छ । झाडापखालाका बिरामी मात्र दैनिकजसो ५र६ जना आउने गरेको डा. बास्तोलाले बताउनुभयो ।

गर्मी महिनामा यी रोगका बिरामी अझ बढ्छन् । उसै त गर्मी मौसममा रोगको संक्रमण छिटो फैलन्छ त्यसोमा दूषित पानीको प्रयोगले यो सम्भावनालाई थप गर्छ । यी सबै रोगबाट बच्न पानी उमालेर तथा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न डा. बास्तोलाको सुझाव छ ।

यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरीसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक छ ।

बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहन्छ । सुन्दा सामान्य लागेपनि झाडापखाला, भाइरल ज्वरो लगायत रोगले जटिल रुप लिए मानिसको ज्यानै जान समेत सक्छ । त्यसैले पानीलाई उमालेर तथा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सके धेरै रोगबाट बच्न अनि बचाउन सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org