ताजा समाचार

‘ट्रान्जिट पर्मिट’का कारण जडीबुटी निर्यातमा समस्या

बाँके ।  ‘ट्रान्जिट पर्मिट’का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ ।

भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका नाममा व्यवसायीलाई अनावश्यक झमेलामा पार्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ ।

सरकारले जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको जनाइरहँदा सरकारी उदासिनताकै कारण जडीबुटी निर्यातमा समस्या भइरहेको व्यवसायीको गुनासो छ । रुपैडिहा नाकाबाट निर्यातका क्रममा झमेला हुन थालेपछि भारतको उत्तर प्रदेशअन्तर्गतकै सुनौली नाकाबाट निर्यातमा सहज देखिएको भन्दै नेपालगञ्जका धेरै व्यवसायीले सुनौली नाका प्रयोग गर्न थालेका छन् । जसका कारण नेपालगञ्जबाट रुपैडिया नाका हुँदै भारत निर्यात हुने जडीबुटीको मात्रा वर्षेनी घट्दै गएको छ ।

एक दशक अघिसम्म वार्षिक ७० लाख किलो जडीबुटी यस नाकाबाट भारततर्फ निकासी हुने गरेकोमा हाल ज्यादै न्यूनमात्र निर्यात हुने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ । सङ्घका अनुसार, यस नाकाबाट आर्थिक वर्ष २०७२÷०७३ मा ४६ लाख ३८ हजार २१५ किलो जडीबुटी निकासी भएकामा २०७३÷०७४ मा ४० लाख ५० हजार ६७४ किलो निकासी भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा २७ लाख ५४ हजार २०० किलोमात्र जडीबुटी निकासी भएको सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिनुभयो । ट्रान्जिट पर्मिटका नाममा भारततर्फ अनावश्यक झमेला हुन थालेपछि जडीबुटी निर्यातमा कमी आएको उहाँको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org