ताजा समाचार

मोदीको शक्ति परीक्षण आज, लोकप्रियता उस्तै रहला ?

नयाँ दिल्ली । सन् २०१४ मा भारतमा भएको लोकसभाको निर्वाचनमा बहुमत हासिल गरेर अहिलेको भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) हाइहाइ भएको थियो । त्यसपछि बनेका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको ग्राफ पनि उत्तिकै बढेको हो ।

तर, त्यतिबेला बाँडिएका आश्वासन पूरा हुन नसकेको भनेर उनीमाथि अहिले आरोप लागिरहेको छ र त्यसको मापन आज आउने विधानसभा चुनावको परिणामले गर्नेछ । बिहानैदेखि सबैतिर आज मतगणना भइरहेको छ ।

भारतको मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोभेम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा चुनाव भएकोमा सबै स्थानको परिणाम आज घोषणा हुँदैछ । आजको मत परिणामले भारतमा को कति पानीमा छ भनेर नापजाँच मात्रै गर्ने छैन कि सन् २०१९ को मे महिनामा हुने लोकसभा निर्वाचनको जोड घटाउतर्फ पनि यसले ठूलै संकेत गर्नेछ ।

अहिले चुनाव भएको पाँच प्रदेश मध्ये मध्यप्रदेश र छत्तीसगढ र राजस्थानमा लामो समयदेखि भाजपा नेतृत्वको सरकार छ भने तेलंगानामा तेलंगाना राष्ट्र समिति ‘टीआरएस’ र मिजोरममा कांग्रेस नेतृत्वको सरकार रहेको छ । आफूले जितेका स्थानमा भाजपाले यसअघि कांग्रेसलाई निकै पछि पारेको थियो ।

विधानसभा निर्वाचनको संभावित परिणामलाई लिएर सोमबारदेखि नै भारतको शेयर बजार ओरालो लागेको बताइएको छ । भारतको रिजर्भ बैंकका गभर्नर उर्जीत पटेलले सोमबार साँझ अचानक दिएको राजीनामाले पनि भारतीय बजारमा असर गरेको विश्लेषकहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org