ताजा समाचार

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कस्को नाम सिफारीस गर्ला ? यी हुन् सम्भावित

काठमाडौँ ।  नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक आजपनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे बस्ने बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गर्दै नियुक्ति सिफारिस गर्नेछ । यद्यपि सो सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाडै बाहिरिएपछि गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

बैठकमा नयाँ ८ वटा संवैधानिक आयोग गठन गर्ने विषयमा सामान्य छलफल भएको थियो । साविकका अख्तियार, लोकसेवा, निर्वाचन र मानव अधिकार आयोग बाहेक, संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग रहने व्यवस्था गरेको छ । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश हुनुभएको हो । सुनुवाई समितिले पूर्ववत निर्णय कायम राखे राणा प्रधानन्यायाधीशका लागि एक्लो उम्मेदवार हुनुहुनेछ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org