ताजा समाचार

भारत प्रदेशसभा मतपरिणाम : काँग्रेस अघि–अघि, भाजपा पछि–पछि

काठमाडौँ ।  भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ।

प्रारम्भिक मतपरिणाममा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसभन्दा पछि परेको छ। राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन्।

राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ। अहिलेसम्मको मतगणनामा कंग्रेस उम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ। मतगनणा जारी छ।

२३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।

यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ। कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।

छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। कंग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ।  सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।

तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ।  २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।

उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो। ४० मध्ये उसले २९ सिट जितेको थियो।

यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ। फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org