ताजा समाचार

लेख : चर्चलाई लाल कार्पेट !

 

‘प्रिय माक्र्स ! तिमीलाई तिम्रै शिष्यहरूले पो धोका दिए । बैरीहरू त, हिजो जस्ता थिए, आज पनि उस्तै छन् ।’
– जर्मन कवि हान्स माग्नुस एन्जेन्स बर्गर

नरेन्द्रजंग पिटर /युनिभर्सल पिस फेडेरेसनको आवरणमा युनिफिकेसन चर्च एसिया प्यासिफिक समिटमा सरकारलाई प्रयोग गर्न सफल भयो । लोकप्रिय नारा शान्तिका नाममा गोप्य एजेन्डा छिपाइयो । राज्य मिसिनरी प्रयोग भयो । प्रधानमन्त्रीको निम्तोपत्र बाँड्दै सल्लाहकारको विश्व दौडाहा, निर्वाचित संघीय सांसदको आतिथ्य, धार्मिक एनजिओलाई धर्मनिरपेक्ष राज्यको प्रायोजन, जनप्रतिनिधिलाई सपरिवार हाजिर हुने उर्दी, सहभागी गैरसरकारी पाहुनालाई मन्त्रीको स्कर्टिङ, जोर–बिजोरको उर्दी र त्यसलाई रक्षा गर्न बबुरो हैसियत, प्रधानमन्त्री कार्यालय नै होटेलमा स्थानान्तरण, ‘ट्र्यु मदरको’ होली वाइन पिउनेको हायातमा लस्कर, उनको ख्रिस्चियानिटीबारे सार्वजनिक भनाइले सबै कुरोको चुरो र हैसियत छरपस्ट मात्रै भएन, ‘वामन्थीहरू’ नै ‘आ बैल मुझे मार’ भन्दै दुस्मनलाई लाल कार्पेट बिछ्याउँन पुगे ।

कम्युनिस्ट राजनीतिक संस्कृतिमा हामी अहिले हार्मलेस लाल सलामको अवस्थामा छौँ । दुईतिहाइको वाम सरकारका क्रियाकलाप हेर्दा जर्मन कविले माथिको कविता नेपालीलाई नै लेखिदिए जस्तो लाग्छ । पार्टीको नाम कम्युनिस्ट, लक्ष्य समाजवाद । तर, गलत बाटोबाट सही गन्तव्यमा कदापि पुग्न सकिन्न । या त बाटो फेर्नुपर्छ, या गन्तव्य । संसारमै आफ्नै चिहान कोही आफैँ खन्दैनन्, तर सरकार र पार्टी नियाल्दा भने उग्र दक्षिणपन्थको काम पनि ‘वामपन्थी’बाटै साम्राज्यवादले लिन थालेको देखिन्छ ।

अन्य हत्याराभन्दा धार्मिक हत्यारा अझ क्रूर हुन्छन् भनेजस्तै वाम पृष्ठभूमिका दक्षिणपन्थ अझ क्रूर, भ्रष्टाचारी, व्यभिचारी, बिलासी र अजिम्मेवार बन्न सक्छन् । रुमानियाका चाउचेस्कुलाई जनव्यवहार नजिरै बन्यो भने सोभियत रुसमा लाल भ्रष्टाचारी चिनाउने ‘न्यु मेन क्लातुरा’ शब्द त्यसै आएको हैन । अहिले सत्ताधारी अधिकांश कम्युनिस्ट आफ्नै इतिहासमाथि आची गर्दै छन् ।

 

व्यवहारवादी बन्ने नाममा जब कुनै वेला घृणा गरेकालाई नै नायक मानेर बखान गर्न थाल्छन्, तब उनीहरू स्वयंलाई मात्र बदनाम गराँउदैनन्, समग्र कम्युनिस्ट आन्दोलनकै पनि बेइज्जत गराइरहेका हुन्छन् । त्यस्तै भयो– एक धर्मिक आइएनजिओले नेपालमा धेरैको लगौँटी खोलिदिएपछि ।

कम्युनिस्टलाई प्रतिकूल अवस्था र बैरीसँग लड्न जति सजिलो हुँदो रहेछ, अनुकूलता र घरशत्रुसँग भिड्न भने अत्यन्तै गाह्रो । लेनिनलाई गोली हान्ने काप्लिन पार्टी सदस्य नै थिइन्, स्टालिनलाई गाली गरेर मृत्युपछि वीभत्स चित्रण गर्ने खु्रस्चेव उनकै प्यारा थिए । गालीशास्त्रका महापण्डित कम्युनिस्ट आन्दोलनमै भेटिन्छन् । बहसका विषय, आन्दोलनका केन्द्र र नायक एवं खलनायकका हैसियत समयसँगै फेरिँदै जान्छन् । तर, भ्रमविरुद्धका संघर्ष भने जटिल हुन्छ ।

नेपाली समाज वामढल्को छ, ट्रेडमार्ककै भए पनि कम्युनिस्ट नाम राख्न ‘कम्युनिस्ट’ नै बाध्य छन् । सीधा कुरा, सत्ता राजनीतिमा अहिले विचारको मृत्यु भइसकेको छ । स्वार्थको पाखण्डपूर्ण खेल मञ्चन हुँदै छन् । तर, पार्टीभित्र त्यसको अप्रेसन अभियान चल्ने नैतिक साहस, योजना र अभियान भने देखिँदैन । मूल नै फोहोर भएपछि नदी त्यसै पनि दुर्गन्धित हुने भयो नै । मूल्यको राजनीति या त सकिएको छ, या खण्डखण्ड गरेर वीभत्स गराइँदै छ । पार्टी, पार्टी रहेनन् । सरकारका सबै अंगको हैसियत ध्वस्त गरिँदै छ । संस्थाको क्षयीकरण गर्न स्वयं सत्ताधारी लागेका छन् । संंवैधानिक निकायले प्रधानमन्त्री कार्यालयको हुकुमलाई गम्भीर तरिकाले नलिँदै प्रधानमन्त्रीलाई आप्mना औपचारिक कार्यक्रममा समेत निम्ता गर्न छाडे ।

दुईतिहाइको ‘वामपन्थी’ सरकारको रूप र चरित्रको छनक कतै पाइँदैन । यो समय अहंकारलाई पुर्ने, जनताको दिल र दिमाग जित्न कथनी र करनीको मिलाप गराउनेको थियो । अझै आमजनता आप्mना नेतृत्वलाई विश्वास गर्न चाहन्छन्, आदर्श पछ्याउन चाहन्छन् । तर, नेताका क्रियाकलाप, स्वभाव र चरित्र विश्वसनीय भने देखिँदैनन् ।

नेतृत्वका परिवार र क्षेत्र मोह, माला, खादा, विदेश भ्रमणको लोभ, बिलासिता र आइएनजिओ प्रेमले बरु घृणा बढ्दो छ । विद्रोह, क्रान्तिबाट सत्तामा पुगेकाहरू सत्ता–नशामा झुम्न थालेपछि पुराना बुर्जुवाभन्दा पनि बढी बुर्जुवा बन्दा रहेछन् । अब त बुर्जुवाहरू पनि लाल सलामसँग लजाउन थालिसके । हालैको एक सर्वेक्षणले एक सय ३७ मुलुकको अध्ययनमा आफ्ना नेतालाई विश्वास नगर्ने देशमध्ये नेपाल १७औँ हुन पुग्यो । तर, कार्यकर्तामा लागेको ‘चुप्पी रोग’ले भने मुख खोल्नै दिँदैन । मौनता विकल्प त हुन्न, केही भुल्का भने अहिले अवश्य देखिएका छन् ।

अहिले जनताले एउटा पक्षप्रति असन्तुष्टि दर्साउनु उनीहरूले आफ्ना समस्या हल गर्ने अर्को पक्ष फेला पारेको संकेत होइन । हालको निर्वाचनले ०१९ मा हुने लोकसभा निर्वाचन अझ बढी प्रतिस्पर्धात्मक हुने छनक भने देखाएको छ ।

सत्ता मनोविज्ञानको चारित्रिक विशेषता भनेकै शक्तिमा भएको मानिसले जे गरे पनि त्यसको वाहवाही गर्ने र जो शक्तिहीन छ, उसले जे गरे पनि र जे भने पनि नदेख्या, नसुन्याझैँ गरिदिने । परिणामतः त्यसले एउटा दलाल वर्ग जन्मिन्छ र नेता पदमा गएपछि आफ्ना पूर्वहैसियत बिर्सन्छन् । केही झर्ने आश र कसैमा अनावश्यक झन्झट त्रासले दलाल वर्ग पदमा बसुन्जेल उसको आलोचना गर्दैन, गल्ती भयो भन्दैन ।

अर्काको नक्कल गरे, आफ्नाे पहिचान रहँदैन । सरकारी नेकपाको अवस्था यस्तै छ । विद्वान्हरू संकेतले चेत्छन्, मूर्खहरू परिणामले । अक्करमै ठक्कर पुगेपछि मात्र मान्छे तिलमिलाउँछन् । स्वस्थ आलोचक र आग्रहहीन द्रष्टामाथि झम्टँदै दोष कसरी अरूलाई थोपर्ने भनेर बरबराउँछन् । त्यस्तै मुनले लगाइदिएको घाउ सुम्सुम्याउनु र ‘ड्यामेज कन्ट्रोल’ कसरी गर्ने ? भन्ने उसलाई अहिले छटपटी र चुनौती बनेको छ । आफ्नाे भुका करामत ‘एक्टिभिस्ट ब्रिगेड’ले पनि मत्थर पार्न सकेनन् । नेतृत्व जति चिप्लिए पनि भक्तका निष्ठा भने अडिग रहिरहन्छ ।

विचार, लक्ष्य र सो प्राप्ति उपायमा गम्भीर छलफलका लागि स्थायी समितिको बैठक गर्न कार्यकर्ता चिच्याइरहेका छन् । नेतृत्व समूह त्यसबाट तर्कन चाहन्छ । या त छलफल नै हुन नपाओस् भनेर मिटिङ पर घर्काउँछ या जम्बो कमिटी बनाइदिन्छ । भूमिकाहीन मझौला नेतृत्वपंक्तिमा राजनीतिक बेरोजगारी, घृणा, कुण्ठा, अकर्मण्यता र निराशाले प्रतिक्रिया पलाउँदै छ । हरेक पार्टीमा विचार आतंक बनेका वेला आलोचनात्मक चेत काउसो बन्ने नै भयो । त्यो नै विस्थापित शक्तिलाई लाल कार्पेट बनिदिन्छ । जब सत्ताका धाराबाट भिन्न बहसले जनमथिंगल हल्लिन थाल्छ, तब शासकहरू छट्पटाउँछन् ।

तब धर्म वा ‘राष्ट्रवाद’ वा निमित्त कारण उछाल्दै सहारा लिन्छन् । धर्म एक मध्यमवर्गीय आवश्यकता हो, जसले तर्क गर्न दिँदैन । भगवान् होस् वा मालिकलाई विश्वास गर्न मात्रै सिकाउँछ । पिँधमा रहेकाले चुनौती दिन नसकून् भनेर ध्यान अन्यन्त्र मोड्न र झिनामसिना कुरामै अल्झाइदिने र लोभ देखाएर वा तर्साएर स्वेछिक आत्मसमर्पण गराउँदै संघर्षशील चेतलाई बोधो बनाइदिन्छन् । हाम्रो कमजोर राजनीतिक इमान र प्रतिबद्धतालाई आइएनजिओहरू सस्तैमा किनबेच गर्छन् भन्ने युनिफिकेसन चर्चले देखाइदियो । ‘ट्र्यु’ मदरका प्रयोगशालाका गिनीपिग को–को, कुन–कुन अवस्थामा बनेका रहेछन् भन्ने पनि अब त छर्लंगै भयो ।

प्रधानमन्त्री ओलीमा अहिले हतास, तनाव र आक्रोश देखिन्छ । उहाँ आत्मसमीक्षा गर्न हैन, मिडिया, बुद्धिजीवी र आलोचकमाथि नै खनिनुभएको छ । आवेगलाई ठन्डा पार्ने समय खोज्न ‘ब्याकरुम मेनेजमेन्ट’ चलिरहेका छन् । निमित्त तर्कहरू उछालिँदै छन् । त्यसका लागी स्थायी समिति बैठक घर्काउनुपर्ने हुन्छ । विश्वस्त भएको विषय हो– यदि तपाईं मिडियाका साधनलाई नियन्त्रण गर्नुहुन्छ भने मानिसको सोच्ने तरिकामा पनि नियन्त्रण गर्न सक्नुहुन्छ ।

मुनको पिचासले सत्ताधारीलाई केही विषयमा ध्यान अन्यन्त्र मोड्न त्राण र सकुन भने मिलेको छ । निर्मलाको पिसाच नरोकिए पनि शक्तिको केन्द्रीकरण, वाइड बडी जहाज प्रकरण, सुन र भ्रष्टाचारका केसहरू, सिन्डिकेट र ठेकेदार प्रकरणबाट ध्यान अन्यन्त्र मोडिएका छन् । रोजगार, शिक्षा, स्वास्थ्य, सम्मानित नागरिक र शान्ति–सुरक्षाजस्ता मुद्दा त सोच्ने नेपालीजनलाई फुर्सदै थिएन । अझ प्रधानमन्त्रीले ‘ट्र्यु मदर’ हाक जा हान मुनबाट जुन पुरस्कार वा सम्मान लिनु भो, त्यो असंवैधानिक पनि थियो । संविधानको धारा २७७ (२) मा ‘नेपाल सरकारको स्वीकृति प्राप्त नगरी नेपालको कुनै पनि नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्नु हुँदैन’ भन्ने संविधान उल्लंघनका विषयसमेत अहिले बहसहीन बने ।

अन्त्यमा, विवादास्पद पादरी मुनको काँचो पिचास अहिले नेपालमा जाग्या छ । अधिकांश नेताका जन्मपत्री पनि खोलिए । पिसाच उतार्ने कथा छन्– त्यसका लागि वायु बोलाउन खली खाने व्यक्ति र योग्य धामी चाहिन्छ । जसले वायु उतार्न सक्दैन, पिसाचले उधुम मच्चाएर उसलाई नै बौलाहा बनाइदिन्छ । कसको आङमा चढ्छ, मूल धामीलाई पनि पत्तै हुँदैन । मुन–पिचासको वायु अब कसको आङमा चढ्ने हो ? उत्तेजनामा सत्ताधारी आउन थालिसके । थप को–को बौलाउने हुन्, अहिल्यै भन्न सकिँदैन । जनतामा बढ्दै गएको निराशा छिटै तोड्ने पहल आवश्यक छ, नत्र हामी ठूलो दुर्घटनातिर जानेछौँ । तर, कसले ? कसरी ? प्रश्न उब्जियो– आखिर किन ‘वामन्थीहरू’ नै दुस्मनलाई लाल कार्पेट बिछ्याउँछन् ? माक्र्सले किन आफ्नै  शिष्यहरूबाट सदा धोका खाइरहनुपर्छ ?

स्टालिन भन्छन्– चिहान मात्रै एउटा त्यस्तो ठाउँ हो, जहाँ हामी केही गल्ती गर्दैनौँ । तर, गम्भीर र शालीन समीक्षाभन्दा पनि आफ्ना भूल र कमजोरीको बचाउमा प्रधानमन्त्री ओलीको बौद्धिक चुनौती र वरिष्ठ नेता माधव नेपालका तर्क राष्ट्रिय लज्जाका विषय बने । यसले जनयुद्ध र जनआन्दोलनले विस्थापित गरेका शक्ति, उग्र दक्षिणपन्थ र यस संवेदनशील भूगोललाई प्रयोगशाला बनाउनेका पिसाच बौरिए । प्रधानमन्त्री त कति बालुवाटार बस्लान्, तर अल्पकाललाई जति असर पा-यो, त्यसले अझ लामो समयसम्म सुकेलुतो मात्रै हैन, देशलाई उकुच पल्टेको घाउ नै बन्नेछ ।

विश्लेषक पिटरको यो लेख हामीले नयाँ पत्रिकाबाट साभार गरेका हौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org