ताजा समाचार

घुम्ती शिविरबाट स्थानीयवासी लाभान्वित

डडेल्धुरा । एकीकृत घुम्ती शिविरबाट डडेल्धुराका सर्वसाधारण लाभान्वित भएका छन् । सामान्य कामका लागि सदरमुकाम जान बाध्य सर्वसधारणले घुम्ती शिविरबाट गाउँमै विभिन्न प्रकारका सेवा पाएका छन् ।

घुम्ती शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, बीउबिजन निःशुल्क प्राप्त गर्नाका साथै पशुका लागि औषधिसमेत गाउँमै पाएको सर्वसाधारणको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र भागेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार एकदिने घुम्ती शिविरको आयोजना गरिएको हो ।

नागरिकता बनाउन मात्रै सदरमुकाम पुग्दा दुई दिन बिताउनुपर्ने वोगटा, लमकाँडेलगायत गाउँका मानिसलाई फाइदा पुगेको वडाध्यक्ष राम शाहीले जानकारी गराउनुभयो । घुम्ती शिविरवाट सर्वसधारणले नागरिकता, विभिन्न तरकारीका बीउ पाउन साथै निःशुल्क स्वास्थ्यजाँच, औषधि पाएका तथा पशुको उपचार भएको अध्यक्ष शाहीले बताउनुभयो ।

डडेल्धुरास्थित गरुड दलगणले पनि दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई गाउँमै गई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । भागेश्वर गाउँपालिका–३ मा पुगी नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरको आयोजना गरेको जनाइको छ । शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुणदल गणले जनाएको छ । बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन् । शिविरमा करीब ४०० बिरामीले स्वास्थ्य उपचार गराएको गरुडदल गणका प्रमुख सेनानी ज्योतिकुमार थापाले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org