ताजा समाचार

तीन लाखले घर बन्दैन, पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज पनि छैन, अब के गर्ने ?

ललितपुर । पुनःनिर्माणमा सूचीकृत भएका धेरै लाभग्राहीले चाहेर पनि प्रवलीकरणमा जान सकिरहेका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा लगे पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सहज छैन ।

जिल्लाका शहरी क्षेत्र र ग्रामीण क्षेत्र दुवैतिर बस्ने धेरै लाभग्राहीले प्रवलीकरणमा जान चाहेका छन् । स्थानीय तहले पनि धमाधम सिफारिश गरिरहेका छन् । घर बनाउनका लागि सरकारले अनुदानस्वरुप दिने रु तीन लाख पर्याप्त नभएपछि धेरै लाभग्राही प्रवलीकरणमा जान चाहिरहेको स्थानीय बताउँछन् ।

ललितपुर महानगरपालिकामा रहको लाभग्राहीमध्ये ५०० जनाले प्रवलीकरणमा जान चाहेका छन् । घर नै बनाउनुभन्दा प्रवलीकरण गर्न सहज भन्दै सिफारिस माग्न स्थानीयवासी आइहरेको महानगरपालिकामा कार्यरत इञ्जिनीयर हरिशचन्द्र लामिछानेले बताउनुभयो ।

लाभग्राहीको घर प्रवलीकरण गरेर हुने अवस्थामा स्थानीय तहले सिफारिस गर्दै आएका छन् । अझै पनि धेरै लाभग्राहीले प्रवलीकरणलाई सामान्य मर्मतका रुपमा बुझेको उहाँले बताउनुभयो ।

प्रवलीकरणका विषयमा लाभग्राही मात्रै होइन स्थानीय तहसमेत प्रष्ट नहुँदा प्रवलीकरणकै लाभग्राहीको समेत काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “न त पुनःनिर्माणका लाभग्राही प्रवलीकरणमा सरेका छन् न त प्रवलीकरणकै कुनै काम अघि बढेको छ ।”

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ स्थानीय तहले सिफारिस गरेको गुनासो प्राधिकरणले सम्बोधन नगरेको बताउनुभयो । नगरपालिकामा कतिपय लाभग्रही छुटेको, कति लाभग्राही पुनःनिर्माणबाट प्रवलीकरण जान चाहेकाले सिफारिस गरेको थियो । आफ्नो क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार भएकाले स्थानीय सरकारलाई अविश्वास गर्न नहुने उहाँले बताउनुभयो ।

नगरपालिकामा बन्दै गरेका विद्यालय वा स्वास्थ्य चौकीका बारेमा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणले एक त यहाँ गर्ने काममा समन्वय गर्नुपर्छ र हामीले गरेका सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”

शहरी क्षेत्रमा मात्रै होइन प्रवलीकरणका विषयमा गाउँपालिकामा अझै बढी अन्योलता छ । ढुङ्गामाटोको घर कसरी प्रवलीकरण गर्न सकिन्छ भन्ने जनप्रतिनिधि र प्राविधिक दुवै अन्योलतामा छन् । गाउँपालिकामा भएका कतिपय घरको सुर (माथिल्लो भाग) बाटै चर्किएको भए पनि प्राविधिकले भूकम्पलगत्तै कम क्षतिग्रस्तको सूचीमा पारेको वाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले बताउनुभयो । ती घरमा अहिले पनि स्थानीयवासी बस्न सकेका छैनन् । पूरै चर्किएर बस्न नमिल्ने खालका माटोका घर कमेरोले लिपेर मात्रै प्रवलीकरण नहुने उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले भूकम्पका लाभग्राहीले जो अहिले टिनको छानामुनि बसिरहेका छन् उनीहरुको गुनासो सिफारिश गरेर पठाइरहेको छ । उहाँले भन्नुभयो, “हामीले गरेको सिफारिसका आधारमा प्रवलीकरणबाट पुनःनिर्माण र पुनःनिर्माणका लाभग्राही प्रलीकरणमा पार्नुपर्छ ।”

कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान पुनःनिर्माण अहिले स्थानीय तहका लागि सबैभन्दा ठूलो चुनौती बनिरहेको बताउनुभयो । जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेकाले कुन व्यक्तिको घर कम क्षति भएको र कुन व्यक्तिको बढी क्षति भन्ने जानकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएका इञ्जिनीयरले एकै छिन हेरेका भरमा मात्रैभन्दा प्राधिकरणले हामीले भनेको मान्नुपर्छ ।”

जिल्लामा भूकम्पलगत्तै सर्वेक्षणबाट आएका र गुनासोबाट थप भएका गरेर जम्मा प्रवलीकरणका लामग्राही जम्मा एक हजार ३८१ छ । तीमध्ये ४६३ लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । ४४६ जना लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् ।

ललितपुर जिल्लाभरमा गुनासोपछि थप भएको समेत गर्दा जम्मा २८ हजार ३८२ लाभग्राही सङ्ख्या छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org