ताजा समाचार

राजापाक्षेद्वारा राजीनामा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाद्वारा सात हप्ताअगाडि प्रधानमन्त्री पदमा नियुक्त भएका महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । गत शनिबार आफ्नै निवासमा उनका समर्थक र पत्रकारहरूमाझ राजापाक्षेले राजीनामा दिएका हुन् ।

राजापाक्षेका छोरा नमाल राजापाक्षेका अनुसार राष्ट्रिय स्थायित्वका लागि उनले राजीनामा दिएका हुन् । राजापाक्षेको राजीनामाले श्रीलंकामा देखिएको झन्डै दुई महिना लामो शक्तिसंघर्ष र राजनीतिक संकटको अन्त्य हुने अपेक्षा गरिएको छ ।
गत बिहीबार श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति मैत्रिपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको थियो । सर्वोच्च अदालतका सातजना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । सर्वोच्चको फैसलासँगै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदमा नियुक्त गरेक राजापाक्षे पनि दबाबमा परेका थिए ।

विक्रमासिंगेको जित 
राष्ट्रपति सिरिसेनाले गत अक्टोबरमा तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो । तर, राष्ट्रपति सिरिसेनाको कदम असंवैधानिक भएको भन्दै विक्रमासिंगेले अदालतको ढोका ढक्ढकाएका थिए । साथै, विक्रमासिंगेले गत बुधबार संसद्मा आफ्नो बहुमतसमेत प्रमाणित गरिसकेका छन् भने राजापाक्षेविरुद्ध संसद्ले अविश्वास प्रस्ताव पारित गरेको छ ।

२ सय २५ सांसद रहेको संसद्मा आफूले बहुमत प्रमाणित गरेर देखाउने दाबी विक्रमासिंगेले गर्दै आएका थिए । यसैबीच, सर्वाेच्च अदालतले राष्ट्रपति सिरिसेनाको कदमलाई असंवैधानिक ठहर गरेपछि विक्रमासिंगेलाई प्रधानमन्त्रीको पद सम्हाल्ने बाटो खुलेको थियो । आइतबारबाट विक्रमासिंगेले प्रधानमन्त्री पद सम्हाल्ने अपेक्षा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org