ताजा समाचार

आन्तरिक एकता सुदृढको पक्षमा नेकपा नेताहरु

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।

गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले बोल्नुभएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताहरुले धारणा राख्नुभएको छ । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिनुभएको छ ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक शनिबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धूम्रबाराही, काठमाडौँमा बस्ने गरी आज स्थगन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org