ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम आज सकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरूले धारणा राख्नेक्रम आइतबार पनि जारी रहने भएको छ । पार्टी  केन्द्रीय कार्यालय धूम्रवाराहीमा मंसिर २९ देखि जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा शनिबारसम्म ४६ स्थायी कमिटी सदस्यले धारणा राखेका छन् ।

शनिबारको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकमा बरिष्ठ नेताद्वय नेपाल र खनालले सरकारको काम कारवाही र पार्टीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । पार्टीसँग समन्वय नगर्दा सरकरामाथि चौतर्फी आक्रमण भएको उनीहरुको जिकीर छ ।

श्रेष्ठका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि शनिबार मात्रै आएकाले आइतबार बैठकमा धारणा राख्ने छन् । बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

नेता छविलाल विश्वकर्माका अनुसार आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ । स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org