ताजा समाचार

एक वर्षसम्म फेसबुक बन्द गर्नुहोस्, १ हजार डलर पुरस्कार जित्नुहोस् !

एजेन्सी । आफ्नो फेसबुक अकाउन्टलाई एक वर्षसम्म निस्क्रिय पार्नका लागि एकजना फेसबुक प्रयोगकर्ताका लागि औषतमा १ हजार डलर दिनुपर्ने एक अध्ययनले देखाएको छ । प्लस वन जर्नलमा छापिएको शोधमा फेसबुकको बजार मूल्यको आधारमा प्रयोगकर्ताको मूल्यांकन गरिएको थियो ।

अमेरिकाको टफ्ट्स विश्वविद्यालयका शोधकर्ताहरुले प्रयोगकर्तालाई कम्तीमा एक दिन वा बढीमा एक वर्षसम्म आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नका लागि कति रकम तिर्नुपर्दछ भनी बोलकबोल गरेका थिए ।

विश्वभर झण्डै दुई अर्ब प्रयोगकर्ता रहेको फेसबुक प्रयोगकर्ताले निःशुल्क रुपमा चलाउँदै आएका छन् । तर एकजना प्रयोगकर्ताको अकाउन्ट यदि एक वर्षसम्म बन्द गर्न लगाउने हो भने झण्डै १ हजार डलर तिर्नुपर्नेछ ।

मानिसहरुले फेसबुकमार्फत जुन सुविधा सित्तैमा लिइरहेका छन् यदि त्यसलाई मौद्रिक मूल्यमा गणना गर्ने हो भने त्यो वार्षिक कम्तीमा पनि एक हजार डलर बराबरको हुन आउँदछ ।

शोधकर्ताहरुले विभिन्न तीनवटा क्षेत्रमा नमूना छनोट गरी अकाउन्टको बोलकबोल गरेका थिए । कलेजका विद्यार्थीका दुईवटा नमूनाका साथै एउटा सर्वसाधारण र अर्को अनलाइन नमूना लिइएको थियो ।

त्यसक्रममा फेसबुक प्रयोगकर्तालाई उनीहरुको फेसबुक अकाउन्ट निश्चित समयका लागि बन्द गरिने, त्यस अवधिका लागि उनीहरुले फेसबुक चलाउन नपाउने र त्यसका लागि उनीहरुले मागे अनुरुपको पैसा भुक्तानी गरिने बताइएको थियो । आफ्नो अकाउन्ट बन्द गरेबापत सबैभन्दा धेरै रकम माग गर्नेमा विद्यार्थीहरु थिए ।

बोलकबोलमा समावेश गराइएका धेरैले एक वर्षसम्म फेसबुक नचलाएर बस्नु आफ्नो लागि असम्भव रहेको बताएका थिए ।

यस अध्ययनले फेसबुकका प्रति प्रयोगकर्ताको जुन मूल्य देखाएको छ, त्यो फेसबुक कम्पनीको वास्तविक मूल्यको तुलनामा गणना गर्दा निकै बढी हो । फेसबुक कम्पनीको बजार मूल्य ४ सय २० अर्ब डलरलाई यसका २ अर्ब २० करोड प्रयोगकर्तामा बाँड्ने हो भने त्यो झण्डै प्रति व्यक्ति १९० डलर हुन आउँछ । यो रकम उल्लेखित अध्ययनमा फेसबुक प्रयोगकर्ताले बोलकबोल गरेको आफ्नो वार्षिक मूल्यको झण्डै एक चौथाइ मात्र हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org